कोरोनाभाइरस सङ्क्रमण रोकथामः यस्ता छन् नागरिकका आवाज र प्रशासनका प्रयास



रवीन्द्र काफ्ले

फिदिम, १५ जेठ

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि जिल्लामा निषेधाज्ञा जारी भएको तीन साता हुन लागेको छ । तर अझैपनि सङ्क्रमण नियन्त्रणमा आउँने छाँट देखिएको छैन् । बरु सदरमुकाम फिदिम सहित पाँच वटा गाउँपालिकाहरु हिलिहाङ, कुम्मायक, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङमा सङ्क्रमण बढिरहेको छ ।

सङ्क्रमण रोकथामका सन्दर्भमा जिल्लाका सरोकारवालाहरुले प्रभावकारी प्रयास गर्न प्रशासनलाई सुझाइरहेका छन् । यसका लागि हिँजो नागरिक समाजले प्रेस नोट जारी गरेको छ । प्रशासनले समेत निषेधाज्ञामा कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सङ्क्रमण रोकथामका सन्दर्भमा हिँजो जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ भने यस्ता छलफललाई निरन्तरता दिइने वताएको छ ।

यहाँ हामीले नागरिक स्तरमा विभिन्न भर्चुअल बैठकहरुमा उठेका आवाजहरु तथा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले हालसम्म जिल्लामा भएका प्रयासबारे राख्नुभएका धारणाहरुलाई सम्पादित रुपमा पस्केका छौँः

बजार र गाडी बन्द भए, अनावाश्यक मानवीय जमघट रोकिएनन्ः प्रेम ओझा (अधिकारकर्मी)

पाँचथरमा नागरिक समाज र सञ्चार क्षेत्रले गरेका प्रयास र सचेतनावारे स्थानीय प्रशासन चनाखो हुनुपर्छ । यदाकदा बेखवर जस्तो देखिएको छ । लामो समय हुँदा समेत जिल्ला अस्पतालमा आइसीयू र भेण्टिलेटरको ब्यवस्थापन हुन सकेन । त्यसमा को जिम्मेवार हो ? तत्कालै प्रभावकारी काम थालौँ ।

सङ्क्रमितहरु कस्तो अवस्थामा छन् भन्ने कुरामा स्थानीय तहहरुले ध्यान नदिएको पाइयो । विशेषतः फिदिममै यो समस्या धेरै देखियो । सङ्क्रमितहरु, शंका लागेर परीक्षणका लागि पीसीआर दिएकाहरु खुलमखुल्ला हिँडिरहेको सुनिएको छ । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ ।

मेरो सूचनामा बजार र सवारी मात्रै बन्द भएका हुन् । फिदिममा तासको मिटिङ चलिरहेको छ, जुवाको मिटिङ चलिरहेको छ । त्यहाँबाट सङ्क्रमण ब्यापक भएको सुनिएको छ । त्यस्ता कुरामा निगरानी भएन् । रक्सीसहितको पार्टी गर्ने, सामूहिक रुपमा खाने बस्ने लगायतका प्रवृत्ति नतोडिदा सङ्क्रमणको जालो तोडिएन् ।

सबै ठाउँ परीक्षणको दायरा बढाउनुपर्ने जरुरत देखिएको छ । पीसीआर परीक्षणको दायरा बढाउन नसकिएको अवस्था देखियो । यस्तै बन्दाबन्दीका प्रभावित जेष्ठ नागरिकहरु, सुत्केरी तथा गर्भवती महिलाहरु, बालबालिकाहरु कस्तो अवस्थामा छन् ? समस्यमा परे कि ठिकै छन् भनेर खोज्नुपर्छ ।

यसपाली राहत वितरणका कुनै काम हुन सकेको देखिएन् । विपन्न तथा श्रमिक वर्गलाई तत्कालै राहत दिनुपर्छ । यसतर्फ स्थानीय सरकारहरुले ठोस चासो दिनुपर्छ ।

स्वास्थ्यका पूर्वाधार जिल्लामा विस्तार गर्न जनशक्ति जुटाउन, पूर्वाधार थप्न, राहत दिन माथिल्ला सरकारसँग पनि समन्वय हुनुपर्छ । सङ्क्रमितहरुलाई नियमति काउन्सिलिङ गर्नुपर्ने आवश्यकता छ । अत्यावाश्यक वस्तुहरुको उपलब्धताको अवस्था, वैकल्पिक ब्यवस्था के छ ? प्रशासनले दैनिक रुपमा हेरोस, खोजोस् । हामीले निर्माण गरेका आइसोलेसनमा उपयुक्त ब्यवस्था हुनुपर्छ ।

फिदिम स्थानीय सरकारको परीक्षण गरिदिने र रिवन टाँगिदिने मात्रै देखियोः तुलसी क्षितिज (कोभिड–१९ सङ्क्रमित पत्रकार)

वास्तवमा फिदिममा स्थानीय सरकारको काम रिवन टाँगिदिने बाहेक देखिएन् । शंका लागेर परीक्षणका लागि गएकालाई परीक्षण गर्ने र घरमै बस भन्ने मात्रै उसको काम देखियो भयो ।

मुख्य कुरा कोभिड–१९ का सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोण अझैसम्म राम्रो भएन् । ठूलो अपराध गरेकोेजस्तो ठान्ने प्रवृत्ति छ । यसले सङ्क्रमितहरुलाई मानसिक रुपमा समस्यामा पार्ने रहेछ । त्यसैले सबैले सबैलाई आत्मीय ब्यवहार गर्ने गर्नुपर्छ ।

यस्तै नियमित काउन्सिलिङ गर्न सकियो भने सबैले प्रायः सङ्क्रमितले कोभिड–१९ लाई सहजै पचाउन सक्छन् । सङ्क्रमण देखिनेवित्तिकैबाट सचेतना अपनाउनु पर्छ । होम आइसोलेसनमा कस्तो ब्यवस्था छ भनेर स्थानीय सरकारले हेर्नुपर्छ । अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको अवस्था हेरिएको छैन् । घर बाहिर आइसोलेसनमा बस्नेका लागि कुनै प्रवन्ध देखिएन् ।

विज्ञका सुझावका आधारमा मात्रै काम गर्नुपर्छ भनेर सङ्क्रमितलाई बुझाइनुपर्छ, उपयुक्त परामर्श दिइनुपर्छ । धेरै सुझाव दिने काम समेत नगरौँ । कसैले के खाउ, कसैले के खाउ भनेर सङ्क्रमितलाई तनाब नदिऔँ । धेरै सुझाव दिएर सङ्क्रमितलाई रणभुल्लमा पार्ने र मानसिक पीडा दिने काम नगरौँ । चिकित्सकले जे भनेका छन्, विज्ञले जे भनेका छन् त्यत्ति सुझाव दिऔँ ।

समाजमा अझैपनि परीक्षण नै गर्नु हुन्न भन्ने धारणाले निकै ब्यापक सङ्क्रमण फैलिएको पाइयो । शंका लागेका सबैलाई परीक्षणको दायरामा जान र लैजान सबैले भूमिका खेलौँ । कोभिड–१९ को सङ्क्रमण भई म स–परिवार होमआइसोलेसनमा छु । चिसो पटक्कै नखाऔँ, यससँग नआत्तिऔँ, सङ्क्रमितसँग नभागौँ । श्वासप्रश्वासबाट मात्रै सर्छ भन्नेमा प्रष्ट होऔँ, हावाबाट कोरोनाभाइरस सर्दैन् ।

परीक्षण बढाई समयमै रिपोर्ट दिनुपर्छः मंगल बेघा (मानवअधिकारकर्मी)

सङ्क्रमितहरु मापदण्डअनुसारको आइसोलेसनमा बसेको पाइएन । कसैले पसल ब्यवसाय सञ्चालन गरिरहेको तथा कोही निर्वाध घुमिरहेको भन्ने गुनासो आएका छन् । परीक्षण नगराएर नियमित काममा लागेपछि सङ्क्रमण ब्यापक देखियो । अव कसैले कसैको मुख नहेरी सिरियसली आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ लाग्नुपर्छ ।

विपन्न वर्गले राहत पाउन नसक्दा समस्यामा परेको देखियो । गत वर्षजस्तै राहत वितरण गरिनु आवश्यक छ । लकडाउन अत्यन्तै फितलो भयो । बजार पसल र यातायात मात्रै बन्द भयो । अब लकडाउनको कडाईमा नागरिक स्तर र सरकारी स्तरबाट सबै लागौँ ।

हामीकहाँ सङ्कलित स्वाबको पीसीआरको रिपोर्ट आउन एक हप्तासम्म लाग्ने रहेछ । यस्तो अवस्थामा स्वाब दिएका मान्छेहरु आइसोलेटेड नहुँदा सङ्क्रमण फैलियो । अव समयमै रिपोर्ट आउने ब्यवस्था मिलाई समयमै सङ्क्रमितलाई सूचना दिऔँ ।

विकास बजेटलाई कोरोना नियन्त्रणमा लगाऔँः युधिष्ठिरराज आमगाई (अधिकारकर्मी)

स्थानीय तहमा अहिले प्रशस्तै बजेट छ । कोरोना सङ्क्रमणको महामारीका कारण विकास बजेट खर्च हुन समस्या देखिएको छ । अतः स्थानीय तहहरुले गाउँपालिकाबाट वैधानिक हिसाबले निर्णय गराई यस्तो बजेटलाई कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण हिसाबले लगानी गर्नुपर्छ । सङ्क्रमितहरुलाई होम आइसोलेसनमा राख्ने, नियमित निगरानी गर्ने, परामर्श दिने काम गर्नुपर्छ ।

मानिसहरुले हेलचेक्र्याई गर्दा कोभिड–१९ को सङ्क्रमणकै कारण ज्यान गएको सुनिएको छ । यसैले स्वास्थ्यमा केही समस्या देखिएका सङ्क्रमितहरुलाई तत्कालै जिल्ला अस्पतालसम्म ल्याउने प्रवन्ध गरौँ । त्यसो गर्दा उनीहरुको राम्रो हेरचाह हुन्छ ।

परीक्षण बढ्छ, अब निषेधाज्ञामा कडाई हुन्छ, परीक्षण गर्न नमान्नेलाई मनाइन्छः प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल

मुख्य नाकाहरु र अन्य जिल्लाबाट प्रवेश गर्ने स्थानमा निर्माण गरिएका स्वास्थ्य सहायता कक्षले बाहिरबाट आउनेको पहिचान र समुदायमा सङ्क्रमण फैलन रोक्न मद्दत गरिरहेको छ । सहायता कक्षलाई निरन्तरता दिइन्छ ।

जिल्ला अस्पताललाई लेभल १ अस्थायी अस्पतालका रुपमा सञ्चालन भइरहेको छ । त्यसलाई विस्तार गरी २५ बेडको बनाइन्छ र लेभल १ को सेवा दिइन्छ ।

पाँच हजार एण्टिजेन किट प्राप्त भएको छ । ती मध्ये तीन सयका दरले गाउँपालिकाहरुलाई उपलब्ध गराउने निर्णय भएको छ र गाउँपालिकाले लिन थाल्नुभएको छ । धेरै सङ्क्रमण फैलिएका स्थानमा जिल्लामा उपलब्ध किटबाट पनि परीक्षण हुन्छ । गाउँपालिकाहरुले समेत थप किट खरिदका लागि प्रयास गरिरहेका छन् ।

जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापनाका लागि पहल भइरहेको छ । यसका लागि यसअघि नै टेण्डर भएपनि सो टेण्डरमा उल्लेखित मूल्यमा प्लाण्ट स्थापना नहुने भएकाले आवेदन नै परेन । अहिले दोश्रो पटक जेठ ३० गतेसम्ममा आवेदन दिन भनी सूचना प्रकाशन भएको छ । त्यसपछि प्लाण्ट स्थापना हुने अपेक्षा गरिएको छ ।

सङ्क्रमितहरुलाई हामीले परामर्श दिन, होम आइसोलेसनमा राख्न, सङ्क्रमितलाई सहजिकरण गर्न वडाध्यक्षको नेतृत्वमा वडा–वडामै जिम्मेवारी दिइएको हो । यसमा आवश्यकताअनुसार सुरक्षा निकाय समेतले साथ दिने निर्णय लिइएपनि त्यसले पनि राम्रोसँग काम गरेको छैन् । टोल सुधार समूहको माध्यमबाट जाने कार्यक्रमले केही सुधार गर्ने अपेक्षा गरिएको छ । टोल सुधार समूह गठनको काम सुरु भएको छ ।

एउटा कुरा, सङ्क्रमण गाउँमा ब्यापक भएको कुरा पुष्टि हुँदै गएको छ । किनकी पीसीआर परीक्षणमा ढिलाई हुने, स्वाब दिएकाहरु चलायमान हुने, आइसोलेसनमा नबस्नेजस्ता समस्या देखिएका छन् । अव परीक्षणलाई ब्यवस्थित बनाउँछौँ । परीक्षण गर्न नमान्नेहरुलाई मनाउन टोल सुधार समूहले काम गर्छ । नमाने बल प्रयोग हुन्छ ।

कन्ट्र्याक टे«सिङ, चेतना फैलाउने, परीक्षणको वातावरण बनाउने लगायत काममा केही ठाउँमा शिक्षकहरुले अन्कनाएर यस्ता काममा जुट्न नसकेको अवस्था यथार्थ हो । तर सधैँ यसरी त चल्दैन् । सबैले आ–आफ्नो ठाउँबाट योगदान दिएमात्रै सङ्क्रमण रोक्न सकिन्छ ।

सबैले उठाउने गरेको आवाज जस्तै मैले पनि भन्दै आएको छु कि आइसोलेसनले एउटा मापदण्ड पूरा गरेकै हुनुपर्छ । बस्न लायक बनाउनुपर्छ । विगतमा क्वारेन्टिन र आइसोलेसन सञ्चालन गरी अस्तब्यस्त पारेर छोडिएको थियो । यसपालि यस्तो हुन दिइन्न । प्रयोग गरेपछि राम्रोसँग फिर्ता दिइनुपर्छ ।

जिल्लामा धामी, झाँक्री लगायतबाट निको पार्ने भनेर अफवाह फैलाइएको सुनिएको छ । शंका लागेकाले कोरोनाको परीक्षण गर्ने, आइसोलेसनमा बस्ने, स्वास्थ्यमा समस्या आए उपचारमा जाने हो । यो कुरामा सबैले जोड दिनुपर्ला ।

प्रतिक्रिया दिनुहोस्