

फिदिम । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (शनिबार) फिफा वरीयतामा ६८ औं स्थानमा रहेको इराकको सामना गर्दैछ। नेपालको फिफा वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।
फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि छ। उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले अल्फायहा रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०ः१५ बजे सुरु हुनेछ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो ।
नेपाल र इराक सन् २०२२ को कतार विश्वकपको दोस्रो चरण र २०२३ को एसिया कपको छनोट खेलिरहेको टिम हो । छनोटमा नेपाल समूह ‘बी’ र इराक समूह ‘सी’ रहेका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी युवा खेलाडी लिएर मैत्रीपूर्ण र विश्वकप छनोटका लागि निस्किएका छन् । इराकविरुद्धको खेल प्रशिक्षक अलमुताईरीको पहिलो खेल हुनेछ ।
बलियो टिम इराकविरुद्धको खेलमा प्रशिक्षक अलमुताईरीले युवा खेलाडीलाई अनुभव दिलाउन चाहन्छन् । उनले इराकसँगको खेलमा नतिजा भन्दा प्रदर्शनमा जोड दिएका छन् ।
इराकविरुद्व नेपालको ‘हेड टु हेड’

नेपाल र इराकबीच पहिलो भेट भारतमा १९८२ मा भएको एसियाली खेलकुदमा भएको थियो । उक्त भेटमा इराकले ३(० ले बाजी मारेको थियो ।
सन् २००१ अप्रिल १४ मा विश्व कप छनोटमा भएको दोस्रो भेटमा इराकले ९(१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।
अन्तिम भेट सन् २००२ मा फिफा विश्वकप छनोटको खेलमा समेत नेपाल र इराक भिडेका थिए । त्यस भेटमा भने नेपालले दुई गोल गरेको थियो । इराकले त्यसको बदला ४ गोल गरेको थियो ।
करिब दुई दशकपछि मैदान उत्रिँदा दुवै टोलीमा युवा र अनुभवी खेलाडी रहनेछन् । यसबीचमा इराकले एसिया कप समेत जितिसकेको छ । नेपाल भने दक्षिण एसियाली फुटबलमै सिमित छ ।
इराकसँग खेलेपछि जुन महिनाको पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको १०–१० अंक छ ।
नेपालले चौथों स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ । नेपाल र इराकबिचको खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ ।

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोलीः
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा ।