पाँचथरमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि



जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदन (मितिः २०७७/०२/१४ शुक्रवार ।)

फिदिम, १४ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज दिउँसो ३ बजेसम्ममा जिल्लामा ५३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यो संख्या विगतमा विभिन्न समयमा स्थानीय तहसँगको तथ्याङ्क मिलाउने क्रममा छुटेका ३७ जना समेतको हो ।

योसँगै जिल्लामा कूल सङ्क्रमित संख्या ५६९ पुगेको छ । आज फिदिम नगरपालिकामा १४ जनामा गरिएको एण्टिजेन परीक्षणमा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै याङवरक गाउँपालिकामा आठ जनामा गरिएको एण्टिजेन परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा ४१६ जना सङ्क्रमित होमआइसोलेसनमा रहेका छन् भने ११ जना जिल्ला भित्रै उपचाररत छन् । जिल्लामा हालसम्म कूल १३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै जिल्लामा उपचार सम्भव नभएपछि हालसम्म पाँच जनालाई अन्यत्र रेफर गरिएको छ । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका मध्ये दुई जनाको जिल्लामै उपचारका क्रममा तथा दुई जनाको उपचारका क्रममा झापामा निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्