कोभिड–१९ रोकथामका प्रयासलाई प्रभावकारी बनाउन नागरिक समाजको अपील



फिदिम, १४ जेठ । नागरिक समाजका प्रतिनिधिहरुले पाँचथरमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउन अपील गरेका छन् ।

जिल्लामा निषेधाज्ञा जारी भएको तीन साता वित्न लाग्दासमेत सङ्क्रमण घट्न नसकेकाप्रति चिन्ता ब्यक्त गर्दै उनीहरुले कोभिड–१९ सङ्क्रमणको महामारी नियन्त्रणमा भूमिका खेल्न सरकारी, निजी तथा नागरिक स्तरमा आग्रह गरेका छन् । नागरिक समाजद्वारा आज जारी प्रेस नोटमा निषेधाज्ञाको प्रशासनबाट प्रभावकारी अनुगमन नहुनु तथा नागरिक स्तरबाट पालना नहुनु, अत्यावाश्यक बाहेक समेत मानवीय आवागमन र जमघट हुनु जस्ता अवस्थाले निषेधाज्ञाले समेत सङ्क्रमणको जालो तोडिन नसकेको उल्लेख छ । सङ्क्रमणको जालो तोड्न निषेधाज्ञाको पूर्ण कार्यान्वयन र पूर्ण पालनामा गर्न उनीहरुले माग गरेका छन् ।

नागरिक समाजका तर्फबाट नेपाल बार एसोसिएसन जिल्ला बार इकाइका अध्यक्ष सन्तकुमार राई, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा, गैरसरकारी संस्था महासंघ शाखाका अध्यक्ष नन्दकुमार नेम्वाङ, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, हुकोडेक नेपालका कार्यकारी निर्देशक प्रेम ओझा, नेपाल मानवअधिकार संगठनका जिल्ला अध्यक्ष सूर्यकुमार निरौला, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहका जिल्ला अध्यक्ष लेखनाथ खतिवडा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि मंगल बेघाले प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका विरामीहरुलाई स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था लगायत निकायबाट अनुगमन, स्वास्थ्य परीक्षण, औषधि वितरण, मनोसामाजिक परामर्श नभएको भनी विरामीहरुले गुनासो गर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले यस्तो अवस्थाको निदान गर्न माग गर्दै कोभिड–१९ का सङ्क्रमित तथा स्वास्थ्यकर्मीहरुमाथि अमानवीय ब्यवहार हुन थालेकाले समुदायलाई सद्भाव अपनाउन आग्रह गरेका छन् । यस्तै मापदण्डअनुसार आइसोलेसनमा बस्न सङ्क्रमितहरुलाई आग्रह गरिएको छ ।

नागरिक समाजले समुदायमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीहरु विना परीक्षण आफ्नो नियमित काममा रहेका कारण सङ्क्रमण झनै फैलिएको आशङ्का गरिएकाले लक्षण देखिनासाथ परीक्षण गर्न र आइसोलेसनमा बस्न आग्रह आम जिल्लावासीमा आग्रह गरेका छन् । यस्तै अरु निकायबाट स्रोत जुटाएर भएपनि परीक्षणको दायरा बढाउन, समयमै परीक्षणको नतिजा उपलब्ध गराउन, पाँचथर जिल्ला अस्पतालमा आइसीयू, भेण्टिलेटर सहितको सेवा चाँडो सञ्चालनमा ल्याउन माग समेत नागरिक समाजले माग गरेको छ ।

यस्तै श्रमिक, विपन्न वर्ग लगायतलाई स्थानीय तहहरुबाट राहत उपलब्ध गराउन र यसमा सहयोग गर्न निजी क्षेत्रसँग उनीहरुले आग्रह गरेका छन् । जिल्लामा सङ्क्रमणको जालो तोडिन नसकेको भन्दै चिन्ता ब्यक्त भइरहेका बेला नागरिक संघ संस्थाहरुले समयमै सङ्क्रमण रोकथाम गरी मानवीय क्षति रोक्न समुदाय र सरकारी निकायको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्