उपाध्यक्ष भण्डारीको उपचारका लागि सात लाख बढी रकम सङ्कलन



पाँचथर, १२ जेठ

कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचाररत नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको उपचार सहयोगार्थ हालसम्म रु. सात लाख भन्दा बढी सहयोग रकम सङ्कलन भएको छ ।

भण्डारीको उपचार सहयोगार्थ नेपाल प्रेस युनियन पाँचथरले सञ्चालन गरेको अभियानमा मात्रै रु. चार लाख २९ हजार ७९२ सङ्कलन भएको छ । युनियन पाँचथरका अध्यक्ष जीतेन्द्र भण्डारीका अनुसार युनियनको अभियानबाट युनियनको बैङ्क खाता मात्रै उक्त रकम सङ्कलन भएको हो ।

यस्तै उपाध्यक्ष भण्डारीको उपचार सहयोगार्थ हिलिहाङ गाउँपालिकाले रु. एक लाख रकम प्रदान गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासंघ झापा शाखाबाट रु. ७५ हजार पाँच सय, कञ्चनजंघा एकेडेमी माध्यमिक विद्यालय फिदिमबाट रु. ५० हजार, कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था फिदिमबाट रु. ३२ हजार, भण्डारी समाज अमरपुरबाट रु. ३४ हजार, प्रेस चौतारी पाँचथरबाट रु. १० हजार, नौलो साहित्यिक विहान समाजबाट रु. पाँच हजार रकम समेत भण्डारीका आफन्तको खातामा जम्मा भएको छ ।

भण्डारीलाई कोरोनाभाइरसको सङ्क्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको छ । उहाँको झापाको विर्तामोड स्थित पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा भेण्टिलेटरमा राखी दुई सातादेखि उपचार भइरहेको नेपाल पत्रकार महासंघ पाँचथर जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो ।

भेण्टिलेटरमा राखी उपचारमा गराउँदा दैनिक ठूलो रकम खर्च हुने भएपछि जिल्लाका विभिन्न संघ संस्था, उद्योग ब्यवसायी लगायतले भण्डारीको उपचारमा सहयोग गरेका हुन् । जिल्लामा हालसम्म सात जना पत्रकारमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको र एक जना निको भइसकेको महासंघ जिल्ला शाखाका अध्यक्ष बाँस्कोटाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्