आर्थिक सर्वेक्षण २०७८ः आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन



फिदिम । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने वताउनुभएको छ । अर्थ मन्त्रालयमा आज अपराह्न आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताउनुभयो ।

सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४।०१ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि संशोधित ४।०१ प्रतिशतको प्रक्षेपण पनि प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

यद्यपि उहाँले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिनुभयो । राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताउनुभयो ।

“आर्थिक बर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुनेगरी आर्थिक वृद्धि दर पछिल्लो २ दशकमै पहिलो पटक २ दशमलब १२ प्रतिशतले ऋणात्मक रहेको छ । यो आर्थिक बर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि उच्च हो । स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक बर्षको तेश्रो चौमासिकबाट तिब्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बनेको छ”, उहाँले भन्नुभयो ।

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा बस्तु तथा सेवाको औषत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।

आर्थिक बर्ष ७६÷७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैया रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ । त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजश्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलब ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

मन्त्रालयले कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार ८ सय ३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको जनाएको छ । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरि ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला वर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो बर्ष भन्दा सुधार भई शुन्य दशमलब ६०२ पुगेको छ । पुनर्निर्माणको क्षेत्रमा यसवर्ष ऐतिहासिक सफलता हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कोभिड महामारीमा परेका व्यवसायीले बैक ऋणको ब्याजमा १० अर्ब २१ करोड ६६ लाख छुट पाएका छन् ।

मन्त्रालयले पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढेको, विमा व्यवसायको दायरा विस्तार भएको निर्यातमा वृद्धि भएको र शोधान्तर तथा राजश्व संकलन लगायत अर्थतन्त्रका समष्ठीगत सूचकहरु सकारात्मक रहेको जनाएको छ । मन्त्रालयले कोभिड महामारीबाट उत्पन्न आर्थिक संकटको बाबजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सवल रहेको र पुनर्निर्माणमा भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुदै अर्थतन्त्र भि आकारमा वृद्धि हुने अनुमान गरिएकोमा कोभिड दोश्रो लहरले गतिशिल बन्दै गएको अर्थतन्त्रमा पुन चुनौति र जोखिम बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्