सुभाङमा सङ्क्रमितका परिवारलाई खाद्यान्न र औषधि वितरण



पाँचथर, १२ जेठ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा कोरोनाभाइरस सङ्क्रमित ४३ परिवारलाई खाद्यान्न र औषधि वितरण गरिएको छ ।

सुभाङमा जन्म भई बेलायतमा रहेका सुहाङ परिवारले सङ्कलन गरी पठाएकार राहत रकमबाट सङ्क्रमितका परिवारलाई सहयोग गरिएको हो । बेलायतमा सङ्कलित २ लाख २२ हजार ४२९ रुपैयाँ रकमबाट कोरोनाका सङ्क्रमणका कारण समस्या परेका तथा अन्य परिवारलाई खाद्यान्न र १३ प्रकारका औषधि एवं औषधिजन्यव वस्तुहरु वितरण गरिएको वितरण अभियानमा सहभागी विर्ख सुहाङले जानकारी दिनुभयो ।

अत्यधिक सङ्क्रमित रहेको मालबाँसे टोलका २६ परिवार सहित वडा भित्रका ४३ परिवारलाई चामल, दाल, नुन, तेल, गेडागुडी लगायत खाद्यान्न र औषधि टोल–टोलमा पु¥याई वितरण गरिएको हो । वडा कार्यालयसँगको समन्वयमा स्थानीय अगुवाहरु नवीन सुहाङ, वीरेन्द्र सुहाङ, जीवन सुहाङ, काँग्रेसका नेता बालकृष्ण ओझा लगायतको सहभागितामा वितरण कार्य हिँजो सम्पन्न भएको हो ।

बेलायतमा रहेका मनप्रसाद सुहाङ, देवेन्द्र सुहाङ, प्रतिमान सुहाङ, जगतमान सुहाङ, हस्त सुहाङ, प्रेम सुहाङ, दीपक सुहाङ, सञ्जय सुहाङ र टेक सुहाङका परिवारले राहतका लागि रकम सङ्कलन गरी पठाएका हुन् । हिलिहाङ–५ सुभाङमा कोरोनाभाइरसका अत्यधिक सङ्क्रमित भेटिएका छन् । हालसम्म यहाँ ७३ जनामा सङ्क्रमण पुष्टि भएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्