भारतीय समकक्षीलाई पत्राचार गरी खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीको आग्रह



फिदिम । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई पत्राचार गरेको स्रोतले जनाएको छ । नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् ।

भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ । बाँकी दश लाख डोज खोप आउन बाँकी छ । सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ । (नेपाल प्रेसबाट)

प्रतिक्रिया दिनुहोस्