पाँचथरमा थप ५० जनामा कोरोना सङ्क्रमण, १०९ जना निको



फिदिम, १२ जेठ । पाँचथरमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा (दिउँसो तीन बजेसम्म) एण्टिजेन र पीसीआर परीक्षणबाट उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४९८ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ ।

यसअघि फिदिम सहित विभिन्न स्थानमा ९८ जनाको स्वाब सङ्कलन गरी गरिएको पीसीआरको नतिजाअनुसार २७ जनाको नतिजा पोजेटिभ आएको हो । यस्तै आजै फिदिममा ४४ जनामा गरिएको एण्टिजेन परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आजै जिल्लाको कुम्मायक र फाल्गुनन्दमा समेत सङ्क्रमित थपिएपनि उक्त सङ्ख्या दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छैन् ।

पछिल्लो २४ घण्टामै जिल्लामा १०९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाई डिफेन्डेन्सी युनिटमा सात र होम आइसोलेसनमा दुई गरी नौ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्