पाँचथरमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९१ जना निको



फिदिम, ९ जेठ ।

पाँचथरमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका कोभिड–१९ फोकल पर्सन तेजबहादुर तुम्बापोका अनुसार आज दिउँसो चार बजेसम्ममा जिल्लाका चार वटा स्थानीय तहमा गरी यत्तिको संख्यामा सङ्क्रमित थपिएका हुन् । जसअनुसार फिदिम नगरपालिकामा १८ जना, हिलिहाङ गाउँपालिकामा १७ जना, फाल्गुनन्द गाउँपालिकामा नौ जना र कुम्मायक गाउँपालिकामा चार जनामा सङ्क्रमण देखिएको तुम्बापोले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक रिपोर्टअनुसार आज ११९ जनामा एण्टिजेन परीक्षण गर्दा ४८ जना सङ्क्रमित थपिएका हुन् । आज ९१ जना सङ्क्रमित निको भएका छन् ।

हाल होम आइसोलेसनमा २७६ जना सङ्क्रमित रहेका छन् भने १० जनाको हाई डिफेन्सिभ युनिटमा उपचार भइरहेको छ । यस्तै तीन जनाको होमआइसोलेसनमै उपचार भइरहेको छ ।

हालसम्म चार जनालाई उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको छ । जिल्लामा हालसम्म कोभिड–१९ सङ्क्रमणका कारण ४५ र ६० वर्षीय दुई पुरुषको ज्यान गएको छ ।

फिदिममा भेटिएका अधिकांश सङ्क्रमित बजार क्षेत्रका छन् । हिलिहाङमा थपिएका १७ जना सङ्क्रमति भने वडा नं. ५ सुभाङका हुन् । उक्त वडामा हालसम्म ७३ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्