पाँचथरमा सङ्क्रमतिको संख्या ३२९ पुग्यो, निको हुने बढ्दै



फिदिम । पछिल्लो २४ घण्टामा पाँचथरमा थप १५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयको दैनिक विवरणअनुसार १५ सङ्क्रमित थपिएसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ३२९ पुगेको छ । आज फिदिममा ५४ जनाको पीसीआर परीक्षणका लगि स्वाब सङ्कलन गरी विराटनगर पठाइएको छ । फिदिम सहित फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित थप भएका हुन् ।

आज ८४ जनाको एण्टिजेन परीक्षणमा १५ जना सङ्क्रमित थपिएका हुन् । नगन्यको अवस्थामा रहेको जिल्लाको फाल्गुनन्द र कुम्मायकमा समुदायस्तरमा सङ्क्रमण देखिएको छ । कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङका अनुसार गाउँपालिकाको वडा नं. १ र २ मा समुदायका ब्यक्तिहरुमा सङ्क्रमण देखिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हाल २९१ जना सङ्क्रमितहरु होम आइसोलेसन रहेका छन् भने नौ जना हाई डिफेन्सिभ युनिट तथा तीन जना आइसोलेसनमा उपचाररत छन् । जिल्लामा आज फिदिमका एक सङ्क्रमितको उपचारका लागि लैजाने क्रममा मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको छ । आज जिल्लाका विभिन्न स्थानका २१ जनाले कोरोना जितेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्