पाँचथरका एक जना सङ्क्रमितको उपचारका लागि लैजाने क्रममा निधन



फिदिम । पाँचथरका एक जना कोरोनाभाइरस सङ्क्रमितको आज निधन भएको छ ।

जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिम बजारमा होटल ब्यवसाय गर्ने ४५ वर्षीय पुरुषको सङ्क्रमणका कारण निधन भएको हो । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार तीन दिनअघि अस्थायी कोभिड–१९ अस्पतालमा भर्ना भएका उहाँको स्वास्थ्यमा समस्या आएपछि आज रेफर गरिएको थियो । थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लैजाने क्रममा उहाँको इलामको फिक्कल पुग्दा निधन भएको सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुका अनुसार निकै सिकिस्त अवस्थामा विहीवार उहाँ अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो । पीसीआर परीक्षणका लागि स्वाब दिएर घरमै बस्नुभएका उहाँको स्वाबको नतिजा समेत पोजेटिभ रहेको पाइएपछि स्वास्थ्यकर्मीले कोभिड–१९ अस्पतालमा भर्ना गरेका थिए । श्वासप्रश्वासमा समस्या रहेका उहाँलाई जिल्ला अस्पतालबाट रेफर गरी उपचारका लागि बेड उपलब्ध भएको नोबेल अस्पताल पठाइएपनि बाटैमा मृत्यु भएको हो ।

मृतकको शव ब्यवस्थापनबारे परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले वताउनुभयो । जिल्लामा यसअघि उपचारकै क्रममा एक ६० वर्षीय पुरुषको पनि कोरोनाभाइरस सङ्क्रमणकै कारण ज्यान गएको थियो ।

जिल्लाकै अन्य केही सङ्क्रमितको झापा तथा काठमाण्डौँमा निधन भएको भएपनि यसबारेको तथ्याङ्क जिल्लामा हालसम्म उपलब्ध छैन् । यकिन सरकारी तथ्याङ्क अभावले कोभिड–१९ सङ्क्रमणबाट भएको मृत्युबारे यकिन संख्या बाहिर आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्