पछिल्लो २४ घण्टामा ८ हजार ९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ८ हजार ५ सय ९१ र एण्टीजेन विधिबाट ३ सय ८९ गरी कुल ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ८ हजार ८ सय ४८ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ८३ हजार ६ सय ८४ जना संक्रमितहरु निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।

हालसम्म १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ८ सय ८६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ३ सय ५७ र एन्टीजेन विधिबाट ७ सय ४८ गरी कुल २० हजार १ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २८ लाख ९७ हजार ५ सय ३ जना पुगेको छ ।

गत २४ घण्टामा १ सय २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्यामा सीसीएमसी, नेपाली सेना र अन्य संस्थाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ६ हजार १ सय ५३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्