

पाँचथर, ७ जेठ ।
नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरले कोरोनाभाइरस सङ्क्रमितहरुलाई घर–घरमा औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री पुर्याई वितरण गरेको छ ।
जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ र ५ मा रहेका ४५ जना सङ्क्रमितहरुलाई संघले हिँजो औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हो । संघले डी–कोल्ड, प्यारासिटामोल, भिटामिन सी लगायत पाँच प्रकारका औषधिहरु, प्रत्येक सङ्क्रमितलाई तीन किलोका दरले गेडागुडीहरु, मास्क, सेनिटाइजर, साबुन लगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको हो ।


अत्यधिक सङ्क्रमित रहेको हिलिहाङ गाउँपालिका–५ सुभाङमा संघले लगेका सामग्री वडाध्यक्ष लक्ष्मीप्रसाद सुहाङमार्फत स्थानीयलाई जिम्मा लगाएको छ । संघका अध्यक्ष कमल थपलिया, सदस्य महेन्द्र खड्का लगायतको टोलीले सुभाङका सङ्क्रमितका लागि पुर्याइएको सामग्री संघका केन्द्रीय सदस्य वीरेन्द्र मंग्राती, हिलिहाङ–५ का वडा सदस्य राजकुमार पन्थाक, हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे सहितको उपस्थितिमा स्वास्थ्य चौकी सुभाङमा वितरण गरेको हो ।
हिलिहाङ–१ अमरपुरका १० जना सङ्क्रमितलाई भने संघले घर–घरमा पुगेर सामग्री वितरण गरेको हो । हिलिहाङ–१ मा वडाध्यक्ष गोपीकृष्ण भण्डारी, राष्ट्रिय युवा संघका उपाध्यक्ष मणि लिङदेन, हिलिहाङ–१ का वडा सदस्य प्रविन राई लगायतको सहभागितामा सङ्क्रमितहरुलाई घर–घरमा औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको हो ।


सामान्य स्वास्थ्य समस्याका लागि स्थानीय स्वास्थ्यकर्मीको परामर्शमा लिन मिल्ने औषधिहरु, झोल पदार्थका लागि विभिन्न प्रकारका तीन किलोका दरले गेडागुडी तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको संघका अध्यक्ष कमल थपलियाले जनाकारी दिनुभयो । सङ्क्रमितहरुको मनोबल बढाउन तथा चाँडो सङ्क्रमणमुक्त सहयोग पुर्याउन रु. ४० हजारभन्दा बढीका सामग्री वितरण गरिएको अध्यक्ष थपलियाले वताउनुभयो ।
सङ्क्रमितहरुलाई औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री वितरण गर्ने कार्य निकै प्रभावकारी भएको र यसले सङ्क्रमणमुक्त हुन, सङ्क्रमण रोकथाम गर्न तथा सङ्क्रमितको मनोबल उच्च पार्न मद्दत गर्ने हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेको भनाई छ ।
राष्ट्रिय युवा संघ पाँचथरको टोलीसँगै जिल्लाको हिलिहाङ–१ मा वडा कार्यालयले कमजोर आर्थिक अवस्थाका सङ्क्रमितका परिवारलाई दाल, चामल लगायत खाद्यान्न सामग्री समेत वितरण गरेको छ । टोलीमै सहभागी स्वास्थ्यकर्मीहरुले सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्नै आवश्यक परामर्श दिएका थिए ।

