कोभिड नियन्त्रण गर्न परीक्षणको दायरा वृद्धि र मापदण्ड पालना अत्यावाश्यक छः मन्त्री नेम्वाङ



पाँचथर, ७ जेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को बढ्दो महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा जोड दिन आग्रह गर्नुभएको छ ।

आज गृह जिल्ला पाँचथरका सरोकारवालाहरुसँगको भर्चुअल बैठकमा बोल्दै मन्त्री नेम्वाङले गाउँ–गाउँमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनु र स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नु अत्यावाश्यक रहेको वताउनुभयो ।

परीक्षणको दायरा बढाउन तीनै तहका सरकारहरुले निजी क्षेत्र र नागरिक समाज समेतलाई साथमा लिई अगाडि बढ्नुपर्ने मन्त्री नेम्वाङको भनाई छ । “सामूहिक प्रयासले मात्रै यो सङ्कटबाट पार पाउन सकिन्छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “परीक्षण, उपचार लगायतका प्रतिरोधात्मक कार्यका अतिरिक्त जनचेतना फैलाउनु आवश्यक छ ।”

मन्त्री नेम्वाङले पहिलो र दोश्रो लहरका वीचमा भएको हेलचेक्र्याईले समस्या निम्तिएको वताउँदै तेश्रो लहर आउँछ भन्ने विज्ञका सुझावलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने वताउनुभयो । पाँचथरमा फिदिम स्थित जिल्ला अस्पताललाई ‘कोभिड–१९ डेडिकेटड’ अस्पताल बनाउन सबै पक्षलाई आग्रह गर्दै मन्त्रीले नेम्वाङले त्यसका लागि संघीय सरकारबाट सक्दो सहयोग गर्ने वताउनुभयो ।

“जिल्ला अस्पतालाई प्रदेश सरकारबाट ५० शैय्यामा स्तरवृद्धिका लागि स्वीकृति हुन नसक्दा पूर्वी पहाडबाट उपचारमा तराईका जिल्ला झर्नुपर्ने बाध्यता छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “विगतमै जिल्ला अस्पतालको स्तरोन्नतिमा ध्यान दिएको भए कम्तिमा पाँच जना विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । अहिले अलि सहज हुन्थ्यो ।”

महामारीमा सबैले योगदान दिनु जरुरी रहेको वताउँदै उहाँले फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य संघले जिल्ला अस्पतालको सुधार, अस्थायी कोभिड अस्पतालको विकासमा गरेको प्रयासको प्रसंशा गर्नुभयो । संघीय सरकारको कोभिड फन्टबाट जिल्ला अस्पताललाई उपलब्ध गराइएको रकमबाट अक्सिजन प्लाण्ट स्थापनामा भएको ढिलाइप्रति उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।

“अक्सिजन प्लाण्ट, भेन्टिलेटर र आइसीयू स्थापनाका लागि कोभिड–१९ को पहिलो र दोश्रो लहरका वीचमा द्रूत कार्य हुन नसक्दा चुनौति थपिएपनि यसबाट पाठ सिकेर जानुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “यी कामका लागि थप रु. २५ लाख उपलब्ध गराउन तत्कालै पत्र पठाउनु होला । मैले पहल गर्नेछु ।”

विशेषज्ञ चिकित्सकको ब्यवस्थापनका लागि आफूले पहल गरिरहेको वताउँदै उहाँले केन्द्रको मात्रै भर नपर्न र जिल्लाको तुम्बेवा र मिक्लाजुङले गरेका प्रयासबाट सिकेर विशेषज्ञ चिकित्सक स्थानीय तहमै राख्न उहाँले आग्रह गर्नुभयो । मन्त्री नेम्वाङले हिजो मात्रै जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर, बेड, एण्टिजेन किट लगायत सामग्री जिल्लामा पठाइएको जानकारी दिनुभयो ।

भर्चुअल बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्थाबारे प्रकाश पार्नुभएको थियो । यस्तै जिल्लाका फिदिम नगरपालिका सहित छ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले आ–आफ्नो स्थानीय तहमा सङ्क्रमण, रोकथाम र प्रतिकार्यका कार्यबारे जानकारी गराउनुभएको थियो । पाँचथरमा हालसम्म ३१४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्