एण्टिजेन किट खरिद गर्न दक्षिण कोरियाबाट डेढ लाख सहयोग



पाँचथर, ७ जेठ ।

पाँचथरको हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिका भित्रका नागरिकमा कोरोनाभाइरस सङ्क्रमण परीक्षणका लागि रु. एक लाख ५० हजार रकम सङ्कलन गरेका छन् ।

गाउँपालिका भित्र समुदायस्तरमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा समुदायस्तरमा परीक्षणको दायरा बढाउन किट खरिदमा गाउँपालिकालाई सहयोग पु¥याउन उनीहरुले रकम सङ्कलन गरी पठाएका हुन् ।

सङ्कलित रकम केही समयअघि मात्रै दक्षिण कोरियाबाट फर्कनुभएका हिलिहाङ–५ का डम्बर सुहाङले आज प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको उपस्थितिमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभएको छ । समुदायस्तरमा सङ्क्रमण फैलँदै गएको अवस्थामा किट खरिद गरी चाँडो परीक्षण गरी महामारी नियन्त्रण गर्न सङ्कलित रकमले सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

युवाहरुले वैदेशिक रोजगारीका क्रममा आफ्नो गाउँ–घर सम्झेर किट खरिदका लागि सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष लिङदेनले हिलिहाङमा घर भई दक्षिण कोरियामा रहनुभएका युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले यसअघि स्थानीय विद्यालयहरुमा कम्प्युटर, शैक्षिक सामग्री लगायतका सामग्रहरु, प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारलाई अल्ट्रासाउण्ड मेसिन लगायत उपकरण उपलब्ध गराइसकेका छन् ।

हिलिहाङ गाउँपालिकामा कोभिड–१९ को सङ्क्रमण निकै ब्यापक रुपमा फैलिएको छ । हालसम्म उक्त गाउँपालिकामा ७७ जना सङ्क्रमित देखिएका छन् । गाउँपालिकाको वडा नं. ५ मा अत्यधिक सङ्क्रमित भेटिएका छन् । उक्त वडामा मात्रै ५६ जना सङ्क्रमित छन् भने उक्त वडाको मालबाँसे टोलमा मात्रै ४४ जनामा सङ्क्रमण भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्