आरुबोटे हत्याकाण्डको दुई वर्ष: मानबहादुरको आत्महत्याले बन्द गर्‍यो प्रश्नको ढोका



फिदिम, ७ जेठ ।

२०७६ जेठ ७ गते विहानै देशभर फैलिएको एउटा खवरले तरङ्ग ल्याउने र मानव मस्तिष्क नै खल्बल्यायो । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे बजार छेउका दुई घरमा नौ जनाको हत्या भएको सनसनीपूर्ण समाचारले देश तथा विदेशको ध्यान खिच्यो । मानव सभ्यताकै कलङ्कित घटनाका रुपमा रहेको हत्याकाण्डको जेठ ७ गते दुई वर्ष पूरा भएको छ । दुई वर्ष पूरा भएपनि यो नृशंस हत्याकाण्डबारेका प्रश्नको ढोका घटनामा सम्लग्न रहेको देखिएका मानबहादुर माखिमको मृत्युसँगै बन्द भएको छ ।

के भएको थियो ?

गाउँवस्तीको सबै मानिसहरु दिनभरीको कामको थकानले मस्त निदाइरहेका आरुबोटे बजारभन्दा करीब डेढ किलोमिटर पर डाँडोमुनिको सानो घरमा मखुण्डो लगाएका ब्यक्ति पुगे । एकापट्टि जस्तापाताको बार रहेको सिकुवाको खाटमा मस्त सुतिरहेका ७४ वर्षीय बमबहादुर फियाकमा उनले अन्धाधुन्द खुकुरी हाने । खाटबाट झरेका बमबहादुर त्यहिँ विते ।

घटनाकी एकमात्र साक्षी बमबहादुरकी नातिनी सीता खजुम घरभित्रको ढोका छिर्ने ढोका खुल्ला थियो वा थिएन् भन्ने यकिन गर्न सक्दिनन् । यसैले भित्र रहेकाहरुले ढोका खोले वा खोलिरहेकै थियो, हत्यारा घरभित्र छिरे र जथाभाबी खुकुरी प्रहार गरे । जहाँ बमबहादुरकी श्रीमती ७० वर्षीया श्रीमती पुर्चीमाया फियाक, २६ वर्षीया मनकुमारी फियाक र १० वर्षीया आशिका खजुमको नृशंस हत्या भयो । १२ वर्षीया सीता भाग्न सफल भइन । हतार–हतार अर्को घर पुगेकी उनलाई हत्याराले झम्टिए नभेट्दा बाँच्न सफल भइन ।

प्रहरी अनुसन्धानअनुसार यसपछि हत्यारा बमबहादुरका जेठा ज्वाइँ धनराज सेर्माको घरतर्फ लागे । आरुबोटे बजार छेउमै कच्ची सडकको डिलमा तल्लोपट्टि फर्केको धनराजको घरमा प्रवेश गरेका उनले ४१ वर्षीय धनराज सेर्मा, धनराजकी श्रीमती एवं बमबहादुरकी जेठी छोरी ३६ वर्षीया जस्मिता फियाक (शेर्मा), धनराज र जस्मिताका छोरीहरु १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, तथा भतिजी छ वर्षीया इक्सा सेर्मामाथि जथाभाबी खुकुरी हाने । जेठ ६ गते मध्यरातमा भएको हत्याकाण्ड गाउँलेहरूले भोलिपल्ट बिहान मात्र थाहा पाए । विहानै प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिहरु घटनास्थल पुग्दा घरभित्र र बाहिर रक्ताम्य शवहरू लडिरहेका थिए । भुइँमा रगतको आहाल थियो ।

घटना वर्णन गरिसाध्य र सोच्न सकिनेसम्मको छैन् । सिकुवामा ७४ वर्षीय बमकुमार फियाकको रक्ताम्य शव थियो । उनी बाहिर सिकुवामा सुतेका थिए । मकुन्डोधारीले उनलाई सुतिरहेकै ठाउँमा अनुहारभरि जथभावी हतियार प्रहार गरेर हत्या गरे । उनको अनुहार नचिनिने अवस्थामा थियो । जताजतै रगतैरगत । उनको घरभित्र तीन शव रगतमा डुबेका थिए ।

बमबहादुरको घरभन्दा करिब १५ मिनेट उकालो हिँड्दा पुगिने ठाउँमा रहेको उनका ज्वाइँ धनराज सेर्माको घरमा झनै कहालीलाग्दो अवस्था थियो । घरभित्रको खाटमा दुई बालिकाको शव रक्ताम्य अवस्थामा थियो । तीन जनाको शव चाँहि एकैठाउँमा खप्टिएको अवस्थामा थिए । हत्याराले धनराज र जस्मिताको यौनाङ्गमा अत्यधिक हतियार प्रहार गरेका थिए ।

मानबहादुरको शव र हतियारले हत्यारा पुष्टि

बमबहादुरको परिवारसँग उनका कान्छा ज्वाइँ मानबहादुर माखिमको सम्बन्ध राम्रो थिएन । मानबहादुरको घरमा बारम्बार झगडा पर्ने गरेको थियो । बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाकले श्रीमान मानबहादुरसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् । त्यसैले उनी माइतमै आएर बस्ने गरेकी थिइन् । उनीहरूबीच सम्बन्ध विच्छेदको कानूनी प्रक्रियासमेत चलिरहेको थियो । मानबहादुर बावुआमासँग घर मिक्लाजुङ–७ लिम्बामा बस्दै आएका थिए ।

उनीसहित परिवारका सबैको हत्या भएपछि गाउँलेहरूले हत्यामा मानबहादुर पनि संलग्न हुन सक्ने शंका गरिरहेका थिए । प्रहरीले पनि मानबहादुरलाई शंकाको घेरामा राखेको थियो । घटना भएको बिहान गाउँमा मानबहादुरको खोजी हुँदै थियो तर पत्ता लागेको थिएन । त्यही क्रममा लिम्बामा मान्छे झुन्डिएको खबर आयो । मानबहादुरको घरबाट पैदल जाँदा करिब डेढ घण्टा लाग्ने लिम्बामा स्थानीय र प्रहरी पुगे । झुण्डिएको शव ज्वाइँ मानबहादुरको थियो ।

शंका गरेकै व्यक्तिको शव भेटिएपछि घटना अनुसन्धान झन् जटिल बन्ये । प्रहरीले घटनामा बाँचेकी बालिकाको बयान र उनको पारिवारिक अवस्थाको अनुसन्धान गर्दा मानबहादुरमाथि शंका गरेको थियो । बालिकाले बताएको हुलिया पनि मानबहादुरसँग मिलेको थियो ।

मानबहादुर झुण्डिएको रुख छेउमा रगत लागेको खुकुरी सहितका विभिन्न सामग्री फेला परेका थिए भने मानबहादुर आफू विरामी भई उपचारमा जानु पर्ने भएकाले पैसा दिन भन्दै विहान करीब ३ बजे केही स्थानीयवासी तथा आफन्तलाई फोन गरेको तथ्य समेत बाहिर आएको थियो । हत्याको घटनामा शंका गरिएका मानबहादुर झुन्डिएको अवस्थामा फेला परे पनि विभिन्न पाटाबाट प्रहरीले अनुसन्धान ग¥यो । पूर्वका मुख्य नाकाहरूमा समेत चेकजाँचमा कडाइ गरेर अनुसन्धान ग¥यो ।

वंश विनाशको योजना

घटनास्थलमा प्रदेश प्रहरीको टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, संघीय प्रहरी इकाई धरानको टोली, पाँचथर र झापा जिल्लाको प्रहरी टोलीसमेत अनुसन्धानमा खटिएको थियो । बमबहादुरको हत्या गरेपछि हत्यारा १५ मिनेटभन्दा बढी समय लाग्ने धनराजको घरमा पुगेर परिवारैलाई हत्या गरेपछि प्रहरीको अनुसन्धानले ‘वंश विनाशको योजना’ अनुरूप हत्या भएको अनुमान थियो । एक सातासम्म घटना भएका दुवै घरमा सिल गरी अनुसन्धान गरिएको थियो भने प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले पनि अनुसन्धान गरेको थियो ।

मानबहादुरमा मानसिक समस्या रहेको आफन्त तथा छिमेकीको भनाई थियो । मानबहादुर र मनकुमारीको बिवाहपछि एक छोरी समेत जन्मेकि थिइन् । तर शिशूको मृत्युपछि मनकुमारी माइतमै बस्दै आएकी थिइन् । मानबहादुरमा आफ्नी श्रीमती मनकुमारीको साढु दाइ धनराज शेर्मासँग अनैतिक सम्बन्ध रहेको शंकाले गर्दा उनले परिवारकै हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो । किनकी उनले मनकुमारी, धनराज र जस्मिताका यौनाङ्ग तथा हातमा अत्यधिक प्रहार गरेको भेटिएको थियो ।

मानबहादुर नै हत्यामा सम्लग्न देखिएपछि हत्याकाण्डसँग सम्बन्धित कयौँ प्रश्नहरुका ढोका सदाका लागि बन्द भएका छन् । घटनाको दुई वर्ष वित्दा बमबहादुर र धनराजका घरहरु संसानजस्तै बनेका छन् । आरुबोटेका स्थानीयवासी गाउँका अत्यन्तै सामान्य परिवारका बमबहादुर र एकदमै मेहनति धनराज तथा जस्मिता सहित मृतकहरुलाई स्मरण गरिरहेका छन् । यो कहालीलाग्ने घटनाले घटनास्थल आसपासका स्थानीयलाई सधैँ–सधैँ झस्काउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्