सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण, उत्प्रेरणा र स्वस्थ जीवनवारे जानकारी



पाँचथर, ५ जेठ

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले यहाँका कोरोनाभाइरस सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण गर्नुका साथै उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रले फिदिम स्थित अस्थायी कोभिड अस्पतालमा रहेका सङ्क्रमितहरुलाई परामर्श, योग तथा प्राणायमका विधिहरु सिकाउँदै आएको छ । केन्द्रले कोभिड अस्पतालका रहेका सङ्क्रमितसँगै धेरै सङ्क्रमितहरु रहेको जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङ पुगी सङ्क्रमितलाई औषधि सेवन गराउने, सामान्य स्वास्थ्य समस्याका निदान गर्ने, योग तथा प्राणायम गराउने विधिबारे जानकारी गराएको छ ।

यस्तै जटिल समस्या रहेका सङ्क्रमितहरु उपचारबाट स्वस्थ हुने तथा सामान्य समस्या रहेका सङ्क्रमितहरुले नियमित औषधि सेवन गरे सहजै सङ्क्रमणमुक्त हुनसक्ने भन्दै केन्द्रले उत्प्रेरणा तथा आत्मबल दह्रो पार्ने प्रयास गर्दै आएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेन सहित स्थानीय जनप्रतिनिधि समेतको उपस्थितिमा केन्द्रले हिलिहाङ–५ को मालबाँसे तथा भालुखोप टोलका सङ्क्रमित, कोभिड–१९ सँग लक्षण मिल्ने विरामी लगायतका आफन्तलाई भेला गरी स्वास्थ्योपचार सम्बन्धी परामर्श, आयुर्वेदिक औषधि सेवन, कोभिड–१९ बाट सहजै मुक्त हुन दैनिकी यापन गर्ने विषयमा जानकारी गराएको हो ।

केन्द्रले स्थानीय स्तरमा उपलब्ध जडिबुटी तथा औषधिहरु प्रशोधन गरी प्रयोग गर्न सङ्क्रमितका आफन्तलाई सुझाएको छ । “गाउँघरमा उपलब्ध गुर्जो, तुलसी, बेसार, अदुवा, ज्वानो जस्ता जडिबुटीलाई मिलाएर खान सके शरीर स्वस्थ र दह्रो भई कोभिड–१९ बाट मानिस चाँडो सङ्क्रमणमुक्त हुन सक्छन्”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जिवकुमार यादवले भन्नुभयो, “जडिबुटी सेवन, स्वस्थ जीवनशैली र खानपान, योग, प्रणायाम जस्ता कुरामा जोड दिन हामीले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हौँ ।”

कोभिड–१९ का सङ्क्रमित तथा तिनका आफन्तलाई भेट्दै हिँजो हिलिहाङ–५ सुभाङ पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले स्वस्थ जीवनशैलीले धेरै हदसम्म सङ्क्रमणबाट बच्न तथा सङ्क्रमणमुक्त हुन सहयोग गर्ने भएकाले यस प्रकारका कार्यक्रम आवश्यक रहेको वताउनुभयो । “हेलचेक्र्याँईले सङ्क्रमण तीब्र गतिमा फैलिएकाले सबैले सचेतना र सजगता अपनाउन पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने देखियो”, उहाँले भन्नुभयो ।

केन्द्रका कविराज निरीक्षक खगेन्द्र पौडेलका अनुसार ज्वरो, रुघा, खोकी जस्ता स्वास्थ्य समस्या हटाउने, खाना रुचाउने आयुर्वेदिक औषधिहरु सङ्क्रमितलाई वितरण हुँदै आएको छ । हालसम्म केन्द्रले रु. ३० हजारभन्दा बढीको आयुर्वेदिक औषधि सङ्क्रमितहरुलाई वितरण गर्नुका साथै योग, प्राणायम र स्वस्थ जीवन पद्धतिबारे जानकारी गराउँदै आएको छ । केन्द्रले सेवा प्रदान गरेको हिलिहाङ–५ मा मात्रै ३२ जना कोभिड–१९ का सङ्क्रमित रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्