अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरको प्रवन्धका सहयोग गर्न संघको अपील



पाँचथर, ५ जेठ

पाँचथर उद्योग वाणिज्य संघले जिल्लामा प्रशस्त मात्रामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरको ब्यवस्था गर्न कोष खडा गरेको छ । संघले उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्न जिल्लावासीमा अपील गरेको छ ।

संघले एनएमबी बैङ्क लिमिटेडको फिदिम शाखामा उक्त कार्यका लागि खाता सञ्चालनमा ल्याई रकम सङ्कलन थालेको हो । जिल्लामा कम्तिमा २० थान अक्सिजन कन्सन्ट्रेटर तथा कम्तिमा ५० थान अक्सिजन सिलिण्डर जम्मा गर्न संघले अभियान थालेको जनाएको छ ।

संघका अध्यक्ष दीपक नेपाल र महासचिव नवराज घिमिरेले जिल्लावासीमा सार्वजनिक अपील गर्दै कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यान दिई पर्‍याप्त अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरको ब्यवस्थाका लागि सहयोग गर्न अपील गर्नुभएको हो ।

संघले यसरी खरिद हुने अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर फिदिम स्थित अस्थायी कोभिड अस्पतालमार्फत सञ्चालन गर्ने तथा कोभिड–१९ को महामारीपछि जिल्लाको सम्पत्तिका रुपमा प्रयोग गर्ने जनाएको छ । संघले जिल्लावासी सहित पाँचथरमा जन्म लिई देश तथा विदेशमा रहेकाहरु, पाँचथरलाई कार्यक्षेत्र बनाई योगदान दिई जिल्लासँग सम्बन्ध गाँसिएकाहरु सबैलाई अभियानमा सहयोग गर्न आग्रह गरेको हो ।

पर्‍याप्त अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर नहुँदा गम्भीर समस्या हुने कोभिड–१९ का सङ्क्रमितहरुको ज्यान जोखिममा पर्ने भन्दै संघले सहयोगका लागि आग्रह गरेको संघका महासचिव घिमिरेले जानकारी दिनुभयो ।

संघले दुई दिनअघिबाट थालेको उक्त अभियानमा जिल्लावासी तथा जिल्ला वाहिर रहेका दाताहरुबाट समेत सहयोग प्राप्त हुने क्रम सुरु भएको संघका अध्यक्ष नेपालले जानकारी दिनुभयो । संघले यसअघि नै उद्यमी, ब्यवसायी तथा दाताहरुबाट रकम सङ्कलन गरी २० थान अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।

संघले गत वर्षको बन्दाबन्दीमा खाद्य वैङ्क स्थापना गरी सात हजार किलोभन्दा बढी खाद्यान्न तथा रु. पाँच लाख बढी रकम सङ्कलन गरी यहाँका स्थानीय तहहरुलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्