पाँचथरमा थप दुई साता निषेधाज्ञा घोषणा



पाँचथर, ३ जेठ । पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ ।

नयाँ भेरिअन्टको कोरोनाभाइरसको सङ्क्रमण जिल्लामा निकै तीब्र रुपमा फैलिदै गएको भन्दै सङ्क्रमणको चेन ब्रेक गर्न सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को अधिकार तथा मन्त्रिपरिषदको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले आज मध्यरात १२ बजेदेखि यही जेठ १७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । गत वैशाक २७ गते जारी भएको निषेधाज्ञाको समय आज मध्यरात सकिदैछ ।

निषेधाज्ञाअनुसार सर्वसाधारणले अत्यावाश्यक काम तथा औषधि उपचारको प्रवन्धका लागि मात्रै घर बाहिर निस्कन पाउनेछन् । यस अवधिमा अन्य कुनै पनि भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ ।

सरकारी कार्यालयहरुलाई अत्यावाश्यक बाहेकका अन्य सम्पूर्ण सेवा स्थगन गर्न निर्देशन दिइएको छ । यस्तै वैङ्क तथा वित्तीय संस्थाले सातामा तीन दिन मात्रै सेवा दिन पाउने भएका छन् । सहकारी तथा वित्तीय संस्थाले घर–घरमा गई रकम सङ्लन गर्ने कार्य समेत बन्द हुने भएको छ ।

ब्यापार ब्यवसायतर्फ फलफूल, दूध तथा दूग्धजन्य पदार्थ र सागशब्जी विक्री गर्ने पसलहरु सबै दिन विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् । तर, खाद्यान्न, एलपी ग्याँस, निर्माण सामग्री लगायत विक्री गर्ने पसल आइतवार, मंगलबार र शुक्रवार विहान ५ बजेदेखि ९ बजेसम्म खुल्न पाउने भएका छन् । मेडिकलहरु सधैँ खुल्ला रहनेछन् भने बाँकी सबै पसल तथा ब्यवसायहरु पूर्णतः बन्द गर्ने आदेशमा उल्लेख छ ।

अत्यावाश्यक क्षेत्रका सवारीका साधन विषय प्रष्ट पारेर सञ्चालन हुन सक्नेछन् भने अन्य सबै सवारीका साधनको सञ्चालनमा रोक लगाइएको छ । भित्रै क्वारेन्टिनको ब्यवस्था गरी कामदार राखेर उद्योगहरु सञ्चालन हुन पाउने भएका छन् भने राष्ट्रिय गौरव तथा महत्वका आयोजना निर्माणको कार्य समेत निरन्तर रहन सक्नेछन् ।

प्रशासनले १० जनासम्म रहेर विवाहका लागि जन्ती जान पाउने ब्यवस्था गरेको छ । ब्यानर राखेर हिडेको अवस्थामा सवारीलाई पास समेत आवश्यक पर्ने छैन् । यस्तै प्रशासनको अनुमति लिई मृत्यु संस्कारमा सवारी समेतको प्रयोग गरी सहभागी हुन पाइने छ ।

विदेशीको प्रवेश स्थगन गरिएको छ भने अत्यावाश्यक वस्तुको आयात खुल्ला राखिएको छ । अत्यावाश्यक वस्तुको कालोबजारी तथा मूल्यवृद्धि हुन नदिन प्रशासनले सचेत तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्