गाउँभरी ज्वरोका विरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ पोजेटिभ



पाँचथर, ३ जेठ ।

गाउँबाट बाहिर नगएका हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले सङ्क्रमणको सुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाक २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो ।

स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघा, खोकी लगायतका स्वास्थ्य समस्या देखिए । आइतवार उक्त टोलका आठ जनामा गरिएको एण्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।

आइतवार आठ जनामा सङ्क्रमण देखिएपछि सोमवार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एण्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे विरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ”, स्थानीयवासी दिलकुमार खुदाङले भन्नुभयो, “विरामी अत्यधिक हुँदा भौतिक दुरी कायम गरेर बस्न र राख्न समेत गाह्रो परिरहेको छ ।” मास्क र सेनिटाइजर समेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रवन्ध गर्नुपर्ने उहाँको भनाई छ ।

“गाउँ भरीमा १५० जनाभन्दा बढी विरामी छन् । सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका छन्”, खुदाङले भन्नुभयो, “निषेधाज्ञाले गर्दा हामीले स्थानीय स्तरबाट मास्क, सेनिटाइजरको प्रवन्ध गर्ने, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने काम समेत गर्न सकेका छैनौँ ।” कोभिड–१९ सँग लक्षण मिल्ने विरामी गाउँभरी हुँदा समेत सरकारी निकायले प¥याप्त चासो नदिएको उहाँको गुनासो छ ।

सोमवार सोही बिवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एण्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ पुष्टि भयो । हिलिहाङ–३ का स्थानीयवासी समेत रहनुभएका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भन्नुभयो, “परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । ज्वरो, रुघा, खोकी लगायत समस्या भएका विरामीहरु गाउँ भरी छन् ।”

घरैपिच्छे विरामी भएपनि अधिकांशले घरेलू औषधि र सिटामोल, निम्स, साइनेक्स जस्ता स्थानीय स्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् । हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाई छ । उनीहरु पनि हिलिहाङ–५ को बिवाहमा सहभागी भएका कारण त्यहिँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।

हिलिहाङ–५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने गाउँ भरी ज्वरो, रुघा, खोकी लगायत कोभिड–१९ सँग लक्षण मिल्ने विरामी भेटिएका छन् । “हाम्रो वडाको मालबाँसे, भालुखोप लगायत टोलका ५५ बढी घरमा विरामीहरु छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन्”, स्थानीयवासी समेत रहनुभएका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भन्नुभयो, “अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरुमा सङ्क्रमण देखिएको छ ।”

हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा सङ्क्रमण देखिएको वताउनुहुन्छ । “हिलिहाङ–५ मा सङ्क्रमितको संख्या ठूलो छ भने गाउँभरी विरामी हुनुहुन्छ भन्ने सुन्नमा आएको छ”, घिमिरेले भन्नुभयो, “अहिलेसम्म कसैमा पनि गम्भीर स्वास्थ्य समस्या नभएकाले क्रमशः परीक्षण गर्दै जाने तयारी गरेका छौँ ।”

लक्षण सहितका विरामीहरुको पहिचान तथा कन्ट्र्याक टे«ेसिङका लागि गाउँपालिकाले शिक्षक, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई परिचालन गरेको छ । “बिवाहका लागि सामग्री खरिदका क्रममा वा कोही पाहुनाबाट सङ्क्रमण भई बिवाहको माध्यमले समुदायमा सङ्क्रमण फैलिएको निश्कर्षमा हामी पुगेका छौँ”, घिमिरेले भन्नुभयो । आज हिलिहाङकै वडा नं. १ मा पाँच जनामा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको संख्या ३९ पुगेको घिमिरेको भनाई छ ।


गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले विरामीको संख्या बढ्दै गएको भन्दै जटिल विरामीलाई तत्कालै उद्धार गर्ने प्रवन्ध मिलाइएको वताउनुभयो । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजन सहितका १० बेड तयार पारेको छ । कन्ट्र्याक टे«ेसिङमा परेका तथा लक्षण देखिएका विरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एण्टिजेन परीक्षण गर्ने प्रवन्ध मिलाइएको अध्यक्ष लिङदेनले वताउनुभयो । “तर गाउँ वस्तीहरुमा सङ्क्रमित देखिदै जाँदा चुनौति थपिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, ब्रतबन्ध लगायतका भीडभाड हुने कार्यहरुका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएको वताउनुभयो । प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका–११ नांगीन, याङवरक गाउँपालिका–१ च्याङथापू, फालेलुङ गाउँपालिका–२ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण वस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानहरुमा ज्वरो, रुघा, खोकीका विरामीको संख्या उल्लेख्य रहेपनि धेरैको परीक्षण नै हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्