कोरोना कहरले महिला उद्यमी मारमा



– सरला रेग्मी

सरला रेग्मी

विगतमा फिदिम बजार मेनरोडको गेट छेउमा रहेको लक्की ब्यूटी पार्लरमा निकै भीडभाड हुने गथ्र्यो । तर अहिले पार्लर सुनसान बन्द, सडक सुनसान छ । विगत १९ बर्षदेखि उक्त पार्लर सञ्चालन गर्दै आएकी लक्की सुजी गत बर्षदेखि ब्यवसायबाट निराश भएको बताउँछिन् । “दैनिक जसो ५०–६० जनालाई सेवा दिने गरेकी थिएँ । अहिले सेवा बन्द गरेर बस्नु परेको छ”, उनको भनाई छ । लक्कीका जस्तै समस्या र अप्ठ्याराहरु धेरैका छन् ।

कोभिड–१९ को पहिलो लहरले थिलोथिलो बनेको व्यवसायीक क्षेत्र दोश्रो लहरको चपेटामा परेको छ । यसमध्ये पनि महिलाहरुको लगानी तथा सहभागितामा सञ्चालन भएका उद्यम व्यवसायहरु बढी नै समस्या र जोखिममा परेका छन् । सदरमुकाम फिदिम र जिल्लाभरका व्यवसाय पूर्ववत् अवस्थामा फर्कन नपाउँदै कोभिड–१९ को दोस्रो लहर शुरु भएपछि व्यवसायीहरु निराश बन्दै गएका छन् । पहिलो लहरबाट पाठ सिकेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई विशेष ध्यान दिँदै सेवा सुचारु गरेका होटल, रेस्टुरेण्ट, ब्यूटी पार्लर जस्ता सेवामुलक ब्यवसाय सङ्क्रमणको दोश्रो लहर र लकडाउन (बन्दाबन्दी)बाट झनै समस्यामा परेका छन् ।

सन् २०१९ डिसेम्बरमा छिमेकी मुलुक चीनको बुहान शहरबाट शुरु भएको (कोरोनाभाइरस) कोभिड–१९ बाट विश्व नै आक्रान्त बनिरहेका बेला फिदिम पनि अछुत रहनसक्ने भएन । हालसम्म विश्वमा १६ करोड भन्दा बढी र नेपालमा चार लाख ४७ हजार व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण भएको छ । यो सामग्री तयार पार्दासम्म नेपालमा कोभिड–१९ सङ्क्रमणका कारण चार हजार ८५६ जनाको मृत्यु भइसकेको छ । पाँचथरमा समेत कोभिड–१९ सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यस बर्ष नयाँ भेरियन्ट सहितको कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा जोखिमलाई न्यूनिकरण गर्न अहिले एक हप्ताका लागि पाँचथर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बिहान ५ बजेदेखि ९ बजेसम्म अत्यावाश्यक सेवा अन्तर्गतका ब्यवसाय सञ्चालनमा छन् भने अत्यावाश्यक बाहेकका यातायात, उद्योग ब्यवसाय बन्द छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले सातामा तीन दिन मात्रै सेवा दिन थालेका छन् ।

अत्यावश्यक सेवामा खाद्य सामग्री, ग्रोसरी पसल, औषधि, इन्टरनेट, दूर सञ्चार, फोहोरका गाडी, दूधका गाडी, खानेपानी, एम्बुलेन्स बाहेक अरु पर्दैनन् । तर जिल्लामा यी बाहेक अन्य व्यबसायहरु पनि छन्, जुन अत्यावाश्यकमा पर्दैनन् । गत वर्ष महिनौंको लकडाउन अनि यो बर्ष फेरि शुरुआत भएको निषेधाज्ञाले कयौँ परिवारलाइ कोरोनाभाइरससँग मात्र होइन् भोकसँग लड्न पनि आत्मबल चाहिएको छ ।

पाँच लाख लगानीमा ब्यूटीपार्लर सञ्चालन गरेकी लक्की सामान्य अवस्थामा राम्रो आम्दानी गर्थिन । बिवाहको सिजनमा त दैनिक जसो २० देखि ३० हजार रुपैयाँसम्म कमाई हुने गथ्र्यो । पाँच जनाको परिवार खर्च उनको कमाइले धानेको थियो । तर कोभिड–१९ महामारी सुरू भएसँगै लामो समय पार्लरले दिने सेवा ठप्प भएपछि उठ्नै नसक्ने गरी व्यवसाय थला परेको उनी बताउँछिन् ।

पाँचथर उद्योग वाणिज्य संघमा दुई हजार एक सय संख्यामा व्यवसाय दर्ता भएका छन् जसमध्ये ६१४ महिला उद्यमी तथा व्यवसायीहरु छन् । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरमा ३ हजार ६ सय ३० उद्यम, ब्यवसाय दर्ता भएका छन् । यहाँ दर्ता भएकामध्ये महिला महिला सञ्चालक रहेका उद्यम, ब्यवसायको संख्या २ हजार १ सय ९० छ ।

यी बाहेक जिल्लामा दर्ता नै नभएर पनि व्यबसाय सञ्चालित छन् । घरेलु कार्यालयका पाँचथरका प्रमुख माधव बाँस्कोटा भन्छन् “जिल्लामा धेरै त्यस्ता उद्योग व्यवसाय सञ्चालकको नाम महिलाका भएतापनि त्यसका हर्ताकर्ता वा व्यवस्थापक पुरुष नै छन् । दर्ता गर्न महिलाको हकमा कम रकम लाग्ने भएर पनि यस्तो भएको हो ।”

तर जिल्लामा यस्ता महिका उद्यमी, व्यबसायी पनि प्रशस्तै छन् जो आफैँले व्यवसाय सञ्चालन गरेर घर परिवार चलाएका छन् । यस्तो बिषम परिस्थिति सिर्जना भइरहँदा लकडाउनमा बन्द भएका व्यबसायी महिला यति बेला कसरी जीवन यापन गरिरहेका छन् भन्ने गहन प्रश्न छ ।

बिगत १५ बर्षदेखि प्रतिमा ढाका उद्योग सञ्चालन गरिरहेकी प्रतिमा पौडेल राना विगतमा यस्तो परिस्थिति नआएकाले सुरुआतमा समना गर्न निकै गाह्रो परेको वताउँछिन् । “शुरुशुरुमा त यसलाई सामना गर्न गाह्रो । यसरी लकडाउन भइराख्दा र मैले सञ्चालन गरेको व्यवसाय अत्यावाश्यक सेवामा पनि नपर्दा झनै गाह्रो चाहीँ हुने रहेछ । भाडा तिर्नै पर्‍यो । घर परिवार चलाउनै पर्‍यो ।”

“लकडाउन हाम्रै सुरक्षाका लागि भएपनि व्यवसायमा ठूलो घाटा पर्‍यो । हरेक सिजनमा १५० वटासम्म साडी विक्री गर्थेँ । अहिले त कोभिडले सखाब नै पार्‍यो”, रानाले भनिन्, “सिजनमा १७–१८ जनासम्म कालीगढ लगाएर काम गथ्र्यौँ । होलसेलमा सामान झापा र काडमाण्डाँै पठाउने गथ्र्यौँ । तर अहिले सबै ठप्प भएको छ, बचाएको पैसा खर्च गर्नुपरेको छ ।” उनको व्यवसायमा काम गर्ने कालीगढ पनि महिला तथा युवतीहरु नै हुन् ।

आठ वर्षअघि दश लाख रुपैयाँ लगानीमा शुरु गरेको न्यू मेरी जोन फेन्सी स्टोर पनि यतिबेला बन्द गुर्नपर्ने बाध्यता छ । दैनिक बिक्री हुँदा ४०–५० हजार सम्मको कारोबार हुने स्टोर बन्द हुँदा अत्यन्तै मारमा परेको सञ्चालिका प्रेमकला राई तुम्बापो वताउँछिन् । “आफैँले सोच्नु आठ हजार भाडा छ । पसल बन्द हुदाँ कसरी तिर्नु ?”, उनी भन्छिन्, “अघिल्लो पटक अलिअलि बचाएको पैसा चलायौँ । यस पटक धेरै दिन व्यापार गर्न पनि पाएका थिएनौँ । सुरु–सुुरुमा त वास्ता हुदैँन । पैसा सकिँदै गएपछि पो तनाव हुने रहेछ ।”

यस्तो पीडा सबैतिर छ । महिला उद्यमी व्यवसायीहरुलाई यस प्रकारको समस्याबाट जोगाउन पहल आवश्यक छ । महिला उद्यमी व्यवसायीहरुको कमी छ, लगानी डुब्दै जादा थप समस्या हुने र ब्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउनसक्छ ।

फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सञ्चालित तिजोक होटलकी सञ्चालक बिना माया आङ्देम्बेको पनि पीडा उस्तै छ । “गाउँ घरमा चहलपहल कम छ । १७ बर्षअघि ७० हजारमा शुरु गरेको होटल गत बर्षदेखि कोरोनाले उस्किनै दिएको छैन”, उनले भनिन्, “परिवार पाल्नु पर्‍यो । होटलले मात्र घर धान्न नसक्ने भएर किराना पनि चलाएका छौँ । अहिले घर त्यसैबाट जसोतसो चलाउछौँ ।”

उनी थप्छिन् “मान्छे डरले आउँदैनन् । दिउँसो मनग्ये खाजा नास्ता बेच्थ्यौँ । दुई वटा कोठा पनि छन्, बाटो हिँड्नेहरु बस्नलाई । तर के आयो आयो रोग, अहिले त हामी आफैँ पनि कतै निस्किदैनौँ, व्यवसाय पनि चौपट छ ।”

यी प्रतिनिधि उदाहरण मात्र हुन् । ब्यूटी पार्लर, ढाका उद्योग, कस्मेटिक, फेन्सी लगायत पसल ब्यवसाय सञ्चालन गरेर गरेर आत्मनिर्भर बन्दै गएका महिलालाई कोभिड–१९ ले परनिर्भरतातिर धकेलिदिएको छ । बालबच्चाको शिक्षादेखि घर खर्चसम्म धानिरहेका महिलाले अहिले खर्च व्यवस्थापनमा समस्या आउनु दुःखद हो ।

उद्योग बाणिज्य संघ, घरेलु कार्यालयमा दर्ता भएर, कानूनी प्रावधानमा बाँधिएर, सरकारलाई कर बुझाएर व्यवसाय सञ्चालन गरिरहेका यस्ता ब्यवसायीलाई सरकारले हेर्ने भनेकै दुःख पाएको बेलामा हो । ग्रामीण क्षेत्र, ग्रामीण बजारदेखि शहरी क्षेत्रका महिला व्यवसायीलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने तथा राहत दिने काममा अब राज्यले ध्यान दिनु आवश्यक छ ।

यस्ता ब्यवसायीहरु आफैँलाई रासन पानीको समेत समस्या हुने अवस्था निम्तन लागेको छ । अप्ठ्यारोमा परेकालाई सहुलियत ऋणसँगै भाडा छुट मिलाइदिए पनि आफैँ केही गर्छु भनी अगाडि बढेका महिला ब्यवसायीहरुलाई निकै ठूलो राहत हुने थियो । अहिले तीनै तहका सरकारले सहयोग नपुर्‍याए उद्यमशीलतामा लागेका महिला पलायन हुने अवस्था सिर्जना हुन बेर लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्