प्रधानमन्त्री ओलीद्वारा देश र जनताका नाममा सपथ



फिदिम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीको पदमा सपथ लिनुभएको छ । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिनुभएको हो । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उहाँ पदमुक्त हुनुभएको थियो । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकको प्रधानमन्त्री बन्नुभएको हो ।

यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री बन्नुभएको छ । विसं २०७४ को आम निर्वाचनमा वाम गठबन्धन बनाई बहुमतसहित विजयी भएपछि एमाले र नेकपा माओवादी केन्द्र बीचको सहमतिमा २०७४ फागुन ३ गते ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

त्यसअघि उहाँ विसं २०७२ असोज २४ मा प्रधानमन्त्री हुनुभएको थियो । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षबीच विवाद बढेपछि प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तय गर्नुभएको थियो ।

उक्त विघटनविरुद्धको रिट निवेदनमा गत फागुन ११ गते सर्वोच्च अदालतले विघटनलाई संविधानसम्मत नभएको ठहर गरी प्रतिनिधिसभा पुनःस्थापन गरेको थियो। सोहीबीचमा फागुन २३ गते अर्को एक मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै नेकपाका नाममा अर्को पार्टी पूर्ववत् रहेकाले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउने ठहर गरेको थियो।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने र एमालेभित्रकै एक पक्ष नयाँ सरकार बनाउने कसरतमा लागेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन सिफारिस गर्नुभएको थियो ।

विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री ओली निरंकुश पञ्चायतविरोधी झापा विद्रोहकालीन जीवित नेतामध्ये एक हुनुहुन्छ । आन्दोलनकै क्रममा डेढ दशक लामो कारागार जीवन विताउनुभएका उहाँ विसं २०७१ असारमा एमालेको निर्वाचित अध्यक्ष भएपछिको आम निर्वाचनमा एमाले ठूलो दलको हैसियतमा जनमत प्राप्त गर्न सफल भएको थियो। (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्