

फिदिम, ३१ वैशाक
पाँचथरमा पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाँचथरका अनुसार आज गरिएको एण्टिजेन परीक्षणमा फिदिम नगरपालिकाका तीन जना, याङवरक गाउँपालिकाका दुई जना तथा तुम्बेवा गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै पाँचथरमा कोरोनाभाइरसका सङ्क्रमितको कूल संख्या ७६ पुगेको छ । जसमध्ये ४९ जना पुरुष र २७ जना महिला छन् ।
पछिल्लो २४ घण्टामा फिदिममा १६ जना, याङवरकमा पाँच र तुम्बेवामा चार जनामा एण्टिजेन परीक्षण गरिएको उक्त कार्यालयले जनाएको छ । सङ्क्रमितहरु मध्ये ६४ जना होम आइसोलेसनमा छन् ।
आठ जना फिदिम स्थित कोभिड–१९ अस्थायी अस्पतालमा उपचाररत छन् भने दुई जनालाई अन्यत्र रेफर गरिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने एक जना निको भइसकेका छन् ।