पछिल्लो २४ घण्टामा ८ हजार ५२० संक्रमित थपिए, २०३ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी ८ हजार ५ सय २० कोरोना भाइरसको संक्रमण देखिएको छ।

यो सँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ६ हजार १३५ जना निको भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा ३ लाख २७ हजार ६ सय ५३ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४।५ प्रतिशत पुगेको छ। हिजो पनि निको हुने दर ७४.६ थियो ।

हालसम्म १ लाख हजार ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ५ सय १६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २० हजार ९ सय ४८ र एन्टीजेन विधिबाट ५ सय ३० गरी कुल २१ हजार ४ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २७ लाख ३३ हजार ५ सय १० जना पुगेको छ।

गत २४ घण्टामा २ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ४ हजार ६ सय ६९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्