नेम्वाङलाई पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी, आजै पदभार ग्रहण



फिदिम । पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज गठित मन्त्रिपरिषदमा पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम गठित मन्त्रिपरिषदमा मन्त्रीको रुपमा नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सपथ ग्रहण गर्नुभयो । सपथ ग्रहणपछि नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगी मन्त्रीको पदभार ग्रहण गर्नु भएको हो । उहाँलाई भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ तथा मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

मन्त्री पदमा पदभार ग्रहण गर्दै नेम्वाङले नागढुंगा–टंकेश्वर सडकका लागि बजेट व्यवस्थापन सम्बन्धि फाइलमा हस्ताक्षर गर्नुभयो । उहाँले पदभारपछि कर्मचारीहरुलाई निर्देशन दिँदै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको कार्य भइरहेकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कामलाई तीव्रता दिन आग्रह गर्नु भयो ।

“आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने हाम्रो दायित्व छ । नयाँ–नयाँ कामको व्यवहारिक ढंगले पहिचान गर्नेछौ । स्वास्थ्य प्रोटोकल पालना गर्दै आ–आफ्नो जिम्मेवारीमा लाग्नुहोला । सहि योजना र बजेट व्यवस्थापन हुन सके अर्को आर्थिक बर्षमा त्यसले राम्रो प्रतिफल दिन्छ” उहाँले भन्नुभयो ।

उहाँले आफू मन्त्रीको रुपमा मात्र नभएर एउटा असल राजनीतिक नेतृत्व र आत्मीय साथीको रुपमा रहने बताउनुभयो । “म आफू जति समय मन्त्रालयको नेतृत्वमा रहन्छु, पुरा जोस जाँगर सहित काम गर्नुहोस । म सहि नेतृत्व र साथ दिनेछु । एउटा मन्त्रीको रुपमा मात्र नभएर एउटा राजनीतिक नेतृत्व गर्ने आत्मीय साथीको रुपमा दिलमा राख्नुहोस । संगठित रुपमा प्रयास गरे देश र जनताको लागि धेरै गर्न सकिन्छ”, मन्त्री नेम्वाङले भन्नुभयो ।

उहाँले असल नियतका साथ काम गर्ने क्रममा मानवीय त्रुटि हुने र त्यस्तो अवस्थामा आफ्नो तर्फबाट साथ दिने कार्यमा कुनै कसर बाँकी नराख्ने समेत बताउनु भयो । मन्त्री नेम्बाङ्गले विगतमा मन्त्रालयको नेतृत्वमा रहँदा कर्मचारीबाट साथ, सहयोग, इमान्दारीता र दक्षताहरु प्रर्दशन गर्दै एउटा परिवारका रुपमा अगाडी बढेको र त्यसलाई निरन्तरताका साथ अघि बढ्नु पर्ने बताउनुभयो।

नेम्वाङ डेढ वर्षदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहनुभएको छ । करीब सात महिना उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अतिरिक्त शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्