ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि



फिदिम । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।

बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन । त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिनुभएको हो । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

प्रतिक्रिया दिनुहोस्