पाँचथरमा दिनहुँ थपिँदै सङ्क्रमित



पाँचथर, २८ वैशाक । पाँचथरका नयाँ भेरिअन्टको कोरोनाभाइरसका सङ्क्रमितको संख्या दिनहुँ बढिरहेको छ । मंगलबार विहानसम्ममा सङ्क्रमितको संख्या ४७ पुगेको छ ।

सोमवार जिल्लामा १३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच जना सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एक जना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । फिदिममा यसअघि भेटिएका सङ्क्रमितहरुको कन्ट्र्याक टे«सिङमा परेकाहरुमा गरिएको एण्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।

यता याङवरकमा सोमवार एकैदिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार याङवरक–४ थर्पूमा पाँच जना र याङवरक–२ फलैंचामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरु सबैको एण्टिजेन परीक्षण गरिएको हो । सोमवार नै थप सात जनाको पीसीआर परीक्षण गरिएको भएपनि नतिजा आउन बाँकी छ ।

यद्यपी जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ दैनिक रिपोर्टअनुसार एक जना सङ्क्रमित निको भएका छन् भने एक जना सामान्य उपचारमा छन् । बाँकी सबै होम आइसोलेसनमा छन् । कार्यालयले दिउँसो ४ बजेसम्मको रिपोर्टमा कूल सङ्क्रमितको संख्या ४० उल्लेख गरेको छ । सोमवार नै ४ बजेभन्दा पछि याङवरकमा सात जना सङ्क्रमित थपिएका हुन् । गत आइतवार मात्रै पाँचथरमा १७ जना सङ्क्रमित थपिएका थिए ।

सङ्क्रमितको संख्यामा वृद्धि भएसँगै आज (मंगलबार)बाट पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ । विहान ९ बजेसम्म सदरमुकाम फिदिममा सार्वजनिक सवारीका साधन ठप्पप्रायः देखिएका छन् । निर्माण कार्यमा प्रयोग भएका सवारी भने सञ्चालनमा देखिएका छन् । विहान ५ बजेदेखि ९ बजेसम्म अत्यावाश्यक सेवाका पसल तथा सेवा खुल्ला गरिएअनुसार पसलहरु खुलेका छन् भने सडकमा सर्वसाधारणको उपस्थिति सामान्य छ । आजदेखि सुरु भएको निषेधाज्ञा एक साताका लागि जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्