

फिदिम । पाँचथरमा नयाँ भेरिअन्टको कोरोनाभाइरसका सङ्क्रमितको संख्या ५७ पुगेको छ ।
स्वास्थ्य कार्यालय पाँचथरका कोभिड–१९ फोकल पर्सन तेजबहादुर तुम्बापोका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा थप १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सोमवार दिउँसो ४ बजेसम्म जिल्लामा सङ्क्रमितको संख्या ४३ थियो । पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमित थपिएका हुन् ।
जसमध्ये सात जना याङवरक गाउँपालिकाका छन् । जहाँ १४ जनाको एण्टिजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण भेटिएको थियो ।
आज फिदिम नगरपालिकामा पाँच जना सङ्क्रमित थपिएका छन् । फिदिममा २४ जनाको एण्टिजेन परीक्षणमा पाँच जना सङ्क्रमित देखिएका हुन् ।
यस्तै दक्षिणी तुम्बेवा गाउँपालिकामा आज दुई जना सङ्क्रमित थपिएका छन् । पाँच जनाको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको हो ।
पाँचथरमा हालसम्म करीब २०० जनाको एण्टिजेन तथा पीसीआर परीक्षण गर्दा करीब एक चौथाई भन्दा बढी अर्थात ५४ जनामा सङ्क्रमण देखिएको हो ।
जिल्लामा सबैभन्दा बढी याङवरकमा २४ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये एक जना निको भइसकेका छन् । फिदिम नगरपालिकामा भने फिदिम बजार भित्रै २० जना सङ्क्रमित छन् । यस्तै फालेलुङ गाउँपालिकामा पाँच जना, तुम्बेवा गाउँपालिकामा तीन जना र हिलिहाङ गाउँपालिकामा दुई जना सङ्क्रमित देखिएका छन् ।
जिल्ला अस्पतालमा अन्यत्र ठेगाना भएका तीन जनामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु मध्ये ३६ जना पुरुष र २१ जना महिला छन् ।