पाँचथरमा आजबाट एक साता निषेधाज्ञा, सङ्क्रमित थपिँदै



पाँचथर, २८ वैशाक । पाँचथरमा सोमवार मध्यरातबाट एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

नयाँ भेरिअन्टको कोभिड–१९ को सङ्क्रमणको लहर बढ्दै गएपछि जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आइतवारको बैठकको निर्णयअनुसार सोमवार मध्यरातबाट निषेधाज्ञा जारी भएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले डीसीसीएमसीको निर्णयअनुसार सङ्क्रमण रोक्न सङ्क्रामक रोग ऐन–२०२० को दफा–२ र स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा २ बमोजिम एक साताका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

जारी आदेशअनुसार अत्यावाश्यक कामबाहेक घर बाहिर ननिस्कन, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न, कोभिड–१९ सँग मिल्ने लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ । अत्यावाश्यक सेवा बाहेकका सबै सवारीका साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

आदेशअनुसार आलोपालो प्रणालीमा सरकारी कार्यालय तथा वित्तीय संस्था सञ्चालन गरिनेछ । खाना पकाउने ग्यास, सागशब्जी, दूध, खाद्यान्न, फलफूल र निर्माण सामग्री विक्री गर्ने पसल विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्ने र बाँकी सबै पसल बन्द गर्ने आदेशमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै उद्योग धन्दा सञ्चालन गर्ने, राष्ट्रिय महत्वका विकास आयोजनाको निर्माणलाई सुचारु गर्ने आदेश दिइएको छ । यसैगरी विवाह, ब्रतबन्ध लगायत कार्य २५ जनाभन्दा कम भेला भई गर्न सकिने, मृत्यु संस्कारमा आफन्तलाई प्रमाणका आधारमा आवत–जावत गर्न दिने प्रशासनको आदेशमा उल्लेख छ । प्रशासनले भारतसँगको सीमाबाट विदेशी नागरिकको प्रवेश स्थगन गरेको छ । नेपालीलाई भने एण्टिजेन परीक्षणपछि प्रवेश दिइनेछ ।

जिल्लामा सोमवार १३ जना तथा आइतवार १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका थिए । हालसम्म ४७ जना सङ्क्रमित भेटिएकामा एक जना सोमवार निको भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको परीक्षणको क्रम जारी रहेकाले सङ्क्रमितको संख्या बढ्नसक्ने सुवेदीको भनाई छ ।

सदरमुकाम फिदिम बजार र याङवरक गाउँपालिकामा समुदायमा सङ्क्रमण देखिएकामा आइतवार जिल्लाको फालेलुङमा समेत समुदायकै पाँच जनामा सङ्क्रमण देखिएको थियो । जनप्रतिनिधि, वैङ्क तथा वित्तीय संस्थाका कर्मचारीसहित समुदायका सङ्क्रमण फैलदै गएपछि जनस्तरबाट निषेधाज्ञा जारी गर्न दबाव आएको थियो ।

निषेधाज्ञाअघि नै यहाँका मुख्य बजारहरुमा ब्यवसायीहरुले पसल–ब्यवसाय बन्द गर्न थालेका थिए । मेची राजमार्ग सहित अन्य सडकहरुमा समेत सवारीका साधनको चाप क्रमशः घटिरहेको थियो । छिमेकी जिल्लाहरु इलाम र ताप्लेजुङको तुलनामा केही कम सङ्क्रमित देखिएको पाँचथरमा पछिल्ला केही दिनमा समुदायमा सङ्क्रमण देखिएको हो ।

जिल्लामा हालसम्म १० वटा अक्सिजन सहितका आइसोलेसन बेड तयार पारिएका छन् । जिल्ला अस्पतालमा स्थापित अस्थायी कोभिड–१९ अस्पतालमा अक्सिजन सहितका १० बेड तयार भएका हुन् । उक्त अस्थायी अस्पतालले सङ्क्रमितहरुलाई चरण–१ सम्मको उपचार सेवा दिनसक्ने जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्लामा ४७ थान अक्सिजन सिलिण्डर मौज्दात रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । यहाँ अक्सिजन प्लान्ट नरहेकाले उक्त संख्याका सिलिण्डर न्यून हुने भन्दै प्रशासन, पाँचथर उद्योग वाणिज्य संघ लगायत निकायले ब्यक्तिगत प्रयोजनमा रहेका अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्