सोमवार मध्यरातबाट पाँचथरमा एक साता निषेधाज्ञा



फिदिम । सोमवार मध्यरातबाट पाँचथरमा एक साताका लागि निषेधाज्ञा सुरु हुदैछ ।

नयाँ भेरिअन्टको कोभिड–१९ को सङ्क्रमणको लहर बढ्दै गएपछि जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आइतवारको बैठकको निर्णयअनुसार सोमवार मध्यरातबाट निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले डीसीसीएमसीको निर्णयअनुसार सङ्क्रमण रोक्न सङ्क्रामक रोग ऐन–२०२० को दफा–२ र स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा २ बमोजिम एक साताका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

जारी आदेशअनुसार अत्यावाश्यक कामबाहेक घर बाहिर ननिस्कन, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न, कोभिड–१९ सँग मिल्ने लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ ।

आदेशअनुसार आलोपालो प्रणालीमा सरकारी कार्यालय तथा वित्तीय संस्था सञ्चालन गर्न भनिएको छ । अत्यावाश्यक सेवा बाहेकका सबै सवारीका साधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

खाना पकाउने ग्यास, सागशब्जी, दूध, खाद्यान्न, फलफूल र निर्माण सामग्री विक्री गर्ने पसल विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्ने र बाँकी सबै पसल बन्द गर्ने आदेशमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै उद्योग धन्दा सञ्चालन गर्ने, राष्ट्रिय महत्वका विकास आयोजनाको निर्माणलाई सुचारु गर्ने आदेश दिइएको छ ।

यसैगरी विवाह, ब्रतबन्ध लगायत कार्य २५ जनाभन्दा कम भेला भई गर्न सकिने, मृत्यु संस्कारमा आफन्तलाई प्रमाणका आधारमा आवत–जावत गर्न दिने प्रशासनको आदेशमा उल्लेख छ ।

प्रशासनले भारतसँगको सीमाबाट विदेशी नागरिकको प्रवेश स्थगन गरेको छ । नेपालीलाई भने एण्टिजेन परीक्षणपछि प्रवेश दिइनेछ ।

हेर्नुहोस् आदेशको पूर्ण पाठः

प्रतिक्रिया दिनुहोस्