पछिल्लो २४ घण्टामा ९ हजार २७१ संक्रमित थपिए, १३९ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर र एन्टिजेन परीक्षण कुल ९ हजार २ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुल संक्रमितको संख्या ४ लाख ३७ हजार ९४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ४ हजार ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख ६ हजार ७ सय ९४ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७६ प्रतिशत पुगेको छ। हिजो निको हुने दर ७७.४ थियो ।

हालसम्म ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ४ सय २७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १७ हजार ६ सय २३ जना र एन्टीजेन विधिबाट ७ सय ८८ गरी कुल १८ हजार ४ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २६ लाख ५२ हजार १ सय ३० जना पुगेको छ।

गत २४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ। हिजो ८८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार ८ सय ५९ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्