

फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका ८ हजार ७ सय ७७ र एन्टिजेन परीक्षण गरिएका ७३ गरी कुल ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
योसँगै कुल संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ४ हजार २२ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख २ हजार ७ सय ८७ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७७.४ प्रतिशत पुगेको छ।
हालसम्म ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ३ सय ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १८ हजार ७ सय ८७ जना र एन्टीजेन विधिबाट६ सय गरी कुल १९ हजार ३ सय ८७ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २६ लाख ३४ हजार ५ सय ४ जना पुगेको छ।
गत २४ घण्टामा ६२ जना कोरोना संक्रमितको मृत्यु तथा सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या थप २६ गरी कुल ८८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार ७ सय २० जना पुगेको छ। हिजो ५३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।