कोभिड अस्पताललाई उद्योग वाणिज्य संघद्वारा २० थान अक्सिजन सिलिण्डर हस्तान्तरण



पाँचथर, २६ वैशाक । पाँचथर उद्योग वाणिज्य संघले फिदिम स्थित कोभिड–१९ अस्थायी अस्पताललाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

संघले जिल्लाका उद्यमी ब्यवसायीहरु तथा अन्य दाताहरुबाट रकम सङ्कलन गरी अक्सिजन सिलिण्डर खरिद गरी कोभिड–१९ अस्पताललाई उपलब्ध गराएको हो । आज जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी संघले २० थान ६.८ क्यूबिक मिटरका अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष दीपक नेपालले जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा तथा पाँचथर जिल्ला अस्पतालका प्रमुख डा. वुद्धिबहादुर थापालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभयो ।

संघको पहलमा उद्यमी ब्यवसायी तथा अन्य दाताहरुबाट सङ्कलित रु. ३ लाख १७ हजारको लागतमा अक्सिजन सिलिण्डर खरिद गरी हस्तान्तरण गरिएको संघका अध्यक्ष नेपालले जानकारी दिनुभयो । कोभिड–१९ अस्थायी अस्पतालमा अक्सिजन सिलिण्डर प¥याप्त नरहेको अवस्थामा संघले गरेको प्रयासले ठूलो मद्दत मिल्ने जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाई थियो ।

पाँचथर जिल्ला अस्पतालमा स्थापित कोभिड–१९ अस्थायी अस्पतालमा १४ थान अक्सिजन सिलिण्डर रहेका छन् । अन्य क्षेत्रबाट समेत अक्सिजन सिलिण्डर थप्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्