फिदिम र याङवरकमा समुदायमा सङ्क्रमण



पाँचथर, २५ वैशाक

पाँचथरको फिदिम नगरपालिका र याङवरक गाउँपालिकामा समुदायमा नयाँ भेरिअन्टको कोरोनाभाइरसको सङ्क्रमण फेला परेको छ ।

लामो समयदेखि जिल्ला बाहिर नगएका ब्यक्तिहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । फिदिम नगरपालिकामा फिदिम बजारका चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । याङवरक गाउँपालिकामा समेत पछिल्लो पटक भेटिएका तीन जना सङ्क्रमितहरु जिल्ला बाहिर नगएको पाइएकाले समुदायमा सङ्क्रमण देखिएको हो । “सबैले त जिल्ला बाहिर गए÷नगएको वताउनुभएको छैन् । तर धेरैजना सङ्क्रमणको लक्षण देखा पर्ने समयमा जिल्ला बाहिर नगएको पाएका छौँ”, सुवेदीले भन्नुभयो ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुशार विहीवारसम्म जिल्लामा १२ जना सङ्क्रमित थिए । शुक्रवार २३ जनाको एण्टिजेन परीक्षण गरिएकामा याङवरक गाउँपालिकामा तीन जना र फिदिम नगरपालिकामा दुई जना सङ्क्रमित थपिएका छन् । शुक्रवार नै फालेलुङ–२ मा २२ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको भएपनि नतिजा आउन बाँकी छ । शनिवार भने परीक्षण नभएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका लगायतमा सङ्क्रमण देखिएपछि समुदायस्तरमा सङ्क्रमण देखिएको कार्यालयको भनाई छ ।

समुदायस्तमा सङ्क्रमण देखिएको भन्दै स्थानीयवासीले परीक्षणको दायरा फराकिलो पार्न माग गरेका छन् । परीक्षण बढाउन स्वास्थ्य कार्यालयले २०० थान एण्टिजेन किट खरिद गरेको छ । “यति किटले नधानेपनि तत्काललाई परीक्षण बढाउन लागेका हौँ”, सुवेदीले भन्नुभयो, “एण्टिजेन परीक्षणमा तत्कालै नतिजा आउने भएकाले पीसीआर परीक्षणलाई घटाउँदै लगेका छौँ ।” पीसीआर विधिबाट परीक्षण गर्न यहाँ सङ्कलन गरिएको स्वाब तराईका जिल्लामा पठाउनुपर्ने र त्यहाँ पालो कुरेर परीक्षण हुँदा ढिलो हुने गरेको छ ।

स्वास्थ्यमा समस्या हुने यहाँका सङ्क्रमितहरुलाई एक लेभलको उपचार दिनेगरी अक्सिजन सहित १० बेडको आइसोलेसन जिल्ला अस्पतालमा तयार पारिएको छ । समुदायमा सङ्क्रमण हुनसक्ने भन्दै स्वास्थ्य कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र सरकारी आग्रहअनुसार मात्रै मानवीय गतिविधि गर्न अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्