फिदिममा एक घरमा आगलागी हुँदा ३१ लाख बढीको क्षति



पाँचथर, २५ वैशाक
फिदिम बजार स्थित एक घरमा आज (शनिवार) विहान आगलागी हुँदा रु. ३१ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आज विहान ८ बजेबाट भएको आगलागीमा फिदिम नगरपालिका–१ लखन मार्गका दावा शेर्पाको दुई तले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीमा उक्त घरमा बसोबास गर्ने छ परिवारको नगद, गरगहना, लत्ताकपडा, मालसामान लगायत जलेर नष्ट हुँदा रु. ३१ लाख ३१ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

आगलागीमा दावा शेर्पाको काठ र टिनले बनेको घर सहित उक्त घरमा डेरा गरी बस्ने खड्गबहादुर गुरुङ, कुलबहादुर मगर, तारा भुजेल खवास, मनप्रसाद सुनुवार, जीतबहादुर मिथोक र इन्द्रकुमारी योक्पाङदेनका नगद, गरगहना, लत्ताकपडा, मालसामान लगायत जलेका हुन् ।

आगलागीमा उक्त घरमा रहेको नेपाल यातायात मजदुर संघको कार्यालयमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट उक्त घरमा डेरा गरी बस्ने छ परिवारका २४ जना विस्थापित भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् । फिदिम नगरपालिकाका दुई वटा बारुण यन्त्र समेतको सहायताले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्