पाँचथरमा अक्सिजनसहितका १० आइसोलेसन बेड तयार



पाँचथर, २५ वैशाक । पाँचथरमा अक्सिजनको सुविधा सहितका १० वटा आइसोलेसन बेड तयार पारिएको छ ।

जिल्लामा नयाँ भेरिअन्टको कोरोनाभाइरसका सङ्क्रमितको संख्या बढ्दै गएपछि जटिल स्वास्थ्य समस्या पर्ने सङ्क्रमितको उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा आइसोलेसन बेड तयार पारिएको हो । जिल्ला अस्पतालको मातृशीशु क्लिनिकलाई स्थानान्तरण गरी आइसोलेसन तयार पारिएको हो । हिँजोबाट सञ्चालनमा आएको आइसोलेसनमा जिल्ला अस्पतालमा मौज्दात अक्सिजन सिलिन्डरहरु प्रयोग गरिएका छन् । जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. वुद्धिबहादुर थापाका अनुसार यहाँ तयार पारिएको आइसोलेसन ‘हाई डिफेन्स युनिट’ अर्थात उच्च रक्षा इकाई मात्रै हो, जसले विरामीहरुको प्रथम चरणको उपचार गर्न सक्छ ।

सङ्क्रमितको संख्यामा वृद्धि हुनु र समुदायमा सङ्क्रमण फैलिएको आशंका भएपछि तत्कालका लागि अक्सिजनको सुविधा सहितको आइसोलेसन तयार पारिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । चाँडै जिल्ला अस्पतालको आइसोलेसनको क्षमता बढाइने र सदरमुकाम फिदिममा अन्य दुई वटा अस्पतालहरुमा समेत अक्सिजन सहितको आइसोलेसन बेड तयार पारिने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रजिअ ढकालका अनुसार जिल्लाका सात वटै गाउँपालिकाहरुले समेत आइसोलेसन तयार पार्न थालेका छन् । त्यहाँ जटिल समस्या देखिएका सङ्क्रमितहरुलाई अक्सिजन सहितको आइसोलेसनमा राखिनेछ । यसका लागि जिल्लामा २० वटा एम्बुलेन्स तयार पारिएको उहाँले वताउनुभयो । प्रजिअ ढकालले उपचारात्मक प्रणाली सुधारका अतिरिक्त सङ्क्रमण रोकथामका गतिविधिलाई समेत प्राथमिकताका साथ अगाडि बढाइने वताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले प्रथम चरणको उपचार केन्द्रले जटिल समस्या भएका सङ्क्रमितहरुको उपचार र जीवन रक्षामा महत्वपूर्ण हुने वताउनुभयो । उहाँले आइसोलेसनको क्षमता वृद्धिमा निरन्तर प्रयास गरिने वताउनुभयो । जिल्ला अस्पतालमा चार थान भेन्टिलेटर भएपनि राख्ने स्थान र सञ्चालन गर्ने प्राविधिक नहुँदा समस्या परेको वताउनुभयो । यस्तै जिल्ला अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाई हुँदा सघन उपचार कक्ष निर्माण कार्य प्रभावित भएको समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष सापकोटाका भनाई छ ।

पाँचथरमा शनिवार १७ जना कोभिड–१९ का सङ्क्रमित फेला परेका छन् । यहाँ फिदिम नगरपालिका र याङवरक गाउँपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको पाइएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्