याङवरक गाउँपालिकामा अत्यावाश्यक बाहेकका सेवा बन्द



पाँचथर, २१ वैशाक । आठ जना कोभिड–१९ का सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावाश्यक बाहेकका सेवा बन्द गरेको छ ।

गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावाश्यक बाहेकका सबै सेवा आज (मङ्गलबार)देखिसात दिनका लागि बन्द गरिएको जनाएको छ ।

यस्तै आठ जना सङ्क्रमित फेला परेको गाउँपालिकाको वडा नं. १ को ठिङ्गेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाईका साथ रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

यस्तै उक्त गाउँपालिकाले ब्यापार–ब्यवसाय समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भने खाद्यान्नका पसल विहान ६ बजेदेखि १० बजेसम्म तथा दिउँसो ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने भएका छन् ।

गाउँपालिका अध्यक्ष घिमिरेका अनुसार सार्वजनिक सवारीका साधनलाई बजारी क्षेत्रमा रोक्न, यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ भने सार्वजनिक सवारीमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।

गाउँपालिकाले धार्मिक, सामाजिक, साँस्कृतिक, खेलकुद सहितका भीडभाड हुने सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि बन्द गरेको जनाएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न र सङ्क्रमणबाट बच्न सावधानी अपनाउन गाउँपालिकावासीमा अपील गरेको छ ।

हिँजो गरिएको एन्टिजेन परीक्षणमा याङवरक–१ का चार जना पुरुष र चार जना महिलामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यस्तै पाँचथर उद्योग वाणिज्य संघ याङवरक शाखाले सङ्क्रमणबाट बच्न ब्यापार–ब्यवसाय बन्द गर्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्