

पाँचथर, २१ वैशाक । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि पाँचथरका सरकारी कार्यालयमा भीडभाड कम गर्न आलोपालो प्रणाली लागू गरिएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले जिल्ला स्थित संघ तथा प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा सेवाग्राहीहरुलाई स्थानीय तहका आधारमा आलोपालो प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जसअनुसार आइतवार फिदिम नगरपालिका, सोमवार हिलिहाङ गाउँपालिका, मंगलबार याङवरक गाउँपालिका, बुधवार फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका, विहीवार कुम्मायक गाउँपालिका र शुक्रवार फालेलुङ गाउँपालिकाका सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।
दैनिक रुपमा १० बजेदेखि ३ बजेसम्म मात्रै कार्यालयबाट सेवा प्रवाह गर्ने निर्णयसमेत बैठकले गरेको छ । आलोपालो प्रणाली लागू भएपछि सेवाग्राहीको भीड कम हुने र सङ्क्रमण फैलने सम्भावना कम हुने सरकारी निकायको विश्वास छ ।
यस्तै जिल्लाका सबै स्थानीय तहहरुले १० बेडको आइसोलेसन र २५ बेडको क्वारेन्टिन निर्माण गर्ने तथा स्वास्थ्यकर्मी सहितको ‘डेडिकेटेड टास्क फोर्स’ बनाउनेसमेत बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै सबै स्थानीय तहमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव लजाउने स्थानको पहिचान गर्ने, एम्बुलेन्स तयारी अवस्थामा राख्ने, आवश्यकताअनुसार स्वास्थ्य सहायता कक्ष निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।