असावधानीले दुर्गम गाउँमा यसरी फैलियो कोरोनाको सङ्क्रमण



पाँचथर, २१ वैशाक ।

जिल्लाको सदरमुकाम फिदिमबाट करीब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमवार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो दुर्गम गाउँमा एक्कासी यत्तिको संख्यामा सङ्क्रमित फेला पर्नु सामान्य कुरा थिएन ।

किनकी करीब २० हजार मानिसको बसोबास रहेको सदरमुकाम फिदिममा जिल्ला बाहिर गएका बखत सङ्क्रमण भएका तीन जना सक्रिय सङ्क्रमित मात्रै छन् ।

यो सुदूर गाउँमा सङ्क्रमण फैलनुको कारण खोज्दै जाँदा पत्ता लाग्यो – असावधानी र हेलचेक्र्याँईले वृद्धदेखि बालकसम्म नयाँ भेरिअन्टको कोभिड–१९ सङ्क्रमणको शिकार भए । एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तहरुलाई निम्ता गरिएको थियो ।

निम्ता मान्न आएका आफन्तहरुसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाक ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई जना आफन्त साविक च्याङथापू गाविस वडा नं. १ ठिङ्गेपुर नाम्रेक आएका थिए ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो ।

“उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो”, वडाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “पाहुना आएकाहरुमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तहरुलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।”

यहाँका सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेसनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले वताउनुभयो । “गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौँ”, उहाँले भन्नुभयो ।

चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य बढी समस्या भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले वताउनुभयो । “पूजा लगाउने ब्यक्तिले सास फेर्न समस्या भएको वताउनुभएकाले अस्पताल लैजाने तयारी गरेका छौँ”, ढुङ्गेलले भन्नुभयो ।

तराईका जिल्लामा ब्यापक रुपमा सङ्क्रमण फैलिइसकेको अवस्थामा यहाँका आफन्तले पाहुना बोलाइएकाहरुसँग सतर्क रहने तथा उनीहरुलाई छुट्टै बसोबासको प्रवन्ध नगर्नाले गाउँमा सङ्क्रमण फैलिएको वडाध्यक्ष ढुङ्गेलको भनाई छ ।

“यहाँका मान्छे अन्यत्र टाढा गएका छैनन् । धेरै टाढा गएका भनेको फिदिम हो, त्यहाँ समुदायस्तरमा सङ्क्रमण फैलिएको छैन्”, ढुङ्गेलले भन्नुभयो, “पूजामा आएका अन्यमा सङ्क्रमण भएको हुनसक्छ ।”

यता सदरमुकाम फिदिममा सोमवार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ सङ्क्रमण भेटियो स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । आइतवार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो ।

मंगलबार विहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाई छ । जिल्लाका अरु पनि सङ्क्रमित भएपनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्