कोभिड–१९ का कारण भारत उडान स्थगित, आन्तरिक उडान पनि बन्द



फिदिम । सरकारले नेपालमा सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । “भारतको उडानलाई केही समय स्थगन गर्ने भनिएको छ । ब्रजिल र दक्षिण अफ्रिकाको उडानलाई बन्द भनिएको छ । सीधै त छैन, तर अन्यत्रबाट आउँदा पनि नल्याउने”, मन्त्री अर्यालले भन्नुभयो ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि अस्पतालको क्षमता बढाउने सन्दर्भमा केही अस्पताललाई सूचीकृत गरेर कार्ययोजना तयार पारिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने विषयमा चीनबाट ल्याउने भनिएका २०,००० सिलिन्डर द्रुत गतिबाट ल्याउने निर्णय गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानीसहित नेपालका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ । विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्