संगठित रुपमा त्रास फैलाई चन्दा असुलीमा संलग्न एक ब्यक्ति पक्राउ



पाँचथर, १९ वैशाक ।

पाँचथरमा प्रहरीले सर्वसाधारणमा त्रास फैलाई संगठित रुपमा चन्दा असुलीमा सम्लग्न रहेका एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तुहरु राखेर त्रास फैलाई त्यसैका आधारमा चन्दा असुली गर्ने एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अनुसन्धान प्रकृया सहजिकरणका लागि उनको नाम र ठेगाना सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । उद्यपी स्रोतअनुसार पक्राउ परेका ब्यक्ति जिल्लाको फालेलुङका कुवेर राई रहेको बुझिएको छ ।

पक्राउ परेका ब्यक्तिबाट प्रहरीले हातहतियार, विस्फोटक पदार्थ लगायतका सामग्री समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार पक्राउ परेका ब्यक्तिका साथबाट अवैध भरुवा बन्दुक एक थान, उक्त बन्दुकमा प्रयोग हुने पार्टपूर्जा सात थान, जीआई सकेट बम एक थान, फ्लेग्जिबल तार पाँच मिटर सहितका विद्युतीय सामग्रीहरु, विस्फोटनमा प्रयोग हुनसक्ने विभिन्न आकारमा फलामका टुक्राहरु सात थान, सिमकार्ड सहितका मोवाइल फोन पाँच थान, छुरी एक थान बरामद भएको छ ।

पक्राउ परेका ब्यक्तिका साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखी विभिन्न नारा लेखिएका लेटरप्याड दुई थान तथा कोष्ठक खाली छोडिएको नेपाल कम्युनिष्ट पार्टी लेखिएका लेटरप्याड ७५ थान, उक्त समूहसँग सम्बन्धित अन्य कागजातहरु, चन्दा असुली रसिद प्याड २० थान, नगद नेपाली रुपैयाँ ५६८६५ र भारतीय रुपैयाँ ११५० बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ति पाँचथरमा केही समययता श्रृङ्खलावद्ध रुपमा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तुहरु सार्वजनिक स्थानमा राख्ने, त्रास फैलाउने तथा चन्दा असुली गर्ने कार्यमा सम्लग्न रहेको प्रहरीको भनाई छ । गत वैशाक ७ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीबजार छेउमा रहेको एनसेलको टावर छेउमा सकेट बम र पर्चा राखेको घटना तथा बैशाक १५ गते सोही वडाको सराङडाँडा जाने बाटोमा शंकास्पद वस्तु राख्ने कार्यमा पक्राउ परेका ब्यक्ति सम्लग्न रहेको प्रहरीको भनाई छ ।

एनसेटको टावर छेउमा सकेट बमसँगै फेला परेको पर्चामा समेत नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको थियो । संगठित रुपमा आतङ्क फैलाउने तथा चन्दा असुली गर्ने कार्यमा पक्राउ परेका ती ब्यक्ति सहितको समूह नै सक्रिय रहेको हुनसक्ने प्रहरीका आँकलन छ । केही समयअघि पाँचथरको फालेलुङ गाउँपालिका–८ मा समेत शंकास्पद वस्तु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्