राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान



फिदिम । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहेपनि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्