शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु



मोरङ, १२ वैशाक

मोरङको केराबारी गाउँपालिका–३ का ३२ बर्षीय हस्तवहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको खुलेको छ ।

यही बैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बनमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएकामा बैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्तबहादुरको शिकार खेल्ने क्रममा आफैँले चलाएको गोली लागेर मृत्यु भएको भनि प्रहरीलाई खबर गरेलगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटिई घटनास्थलबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।

घटना सम्बन्धमा थप बुझ्न इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्तवहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्