कोरोना अपडेटः ३,११२ थपिए, १९ हजार बढी आइसोलेशनमा र २८ जनाको मृत्यु



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका ३ हजार ३२ र एन्टिजेन परीक्षण गरिएका ९० गरी ३ हजार १ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय १९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ४ सय ५० जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ७७ हजार ५ सय ७३ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने ९२.५ प्रतिशत पुगेको छ।

हालसम्म १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ६९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ९ हजार २ सय ९२ जना र एन्टीजेन विधिबाट ७ सय ८६ गरी १० हजार ७८ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २४ लाख ५ हजार १७ जना पुगेको छ।

गत २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएका छ। अन्य संस्थाबाट प्राप्त मृतकको संख्या समायोजन गर्दा १२ जनासहित मृतकको संख्यामा २८ जना थपिएका छन्। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ३ हजार १ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्