४८२ जनामा परीक्षण गर्दा ३८८ जनालाई कोरोना



फिदिम । बाँकेमा ४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न तीन वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा ३८८ जना संक्रमित फेला परेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गरिएका २७६ जनाको नमूनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएका १०७ जनाको नमूनामा ७३ जना, बागेश्वरीको प्रयोगशालामा परीक्षण गरिएका ७४ जनाको नमूनामा ५९ जना र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण फेला परेको फोकल पर्सन वलीले जानकारी दिए। संक्रमित अधिकांश बाँके जिल्लाका छन्।

बिहीबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट पोजेटिभ आएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, यसअघिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखा अधिकृत गौरवकुमार लामिछाने, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, लेखापाल कृष्ण रोकायलगायत १७ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ।

बाँकेमा पछिल्लो साता तीव्र गतिमा कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको देखिएको छ। त्यो रोक्ने प्रयास स्वरूप स्थानीय प्रशासनले बुधबार मध्यरातिदेखि नेपालगञ्ज नगर क्षेत्रभर एक साताको लागि लकडाउनको घोषणा गरेको छ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले कोभिडका कारण स्थिति नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले कोभिडका बिरामीका लागि भनेर छुट्याएर राखिएका सम्पूर्ण १४२ बेड भरिभराउ रहेको र थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

‘संक्रमित बिरामी आउने क्रम जारी छ, हामी मूकदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था छैन,’ मेसु थापाले स्टाटस लेखेका छन्, ‘हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरूरी छ।’

दाङका अस्पताल पनि बिरामीले भरिभराउ भएका छन्। बिरामी आउने क्रम जारी रहे पनि राख्ने ठाउँको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन्।

जिल्लाको तुलसीपुरमा सक्रिय कोरोना संक्रमितको संख्या केही दिनमै १३४ पुगेको छ। जसमा ८७ जना पुरूष र ४७ महिला छन्। संक्रमित हुनेहरू ११ वर्ष उमेरदेखि ६८ वर्षसम्मका छन्।

तुलसीपुर उपमहागरपालिका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरका १९ वटै वडाहरूको तथ्यांक नियाल्दा सबभन्दा बढी संक्रमित वडा नं। ६ मा फेला परेका छन्।

बिहीबारसम्म वडा नं. ६ मामात्रै सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ। यीमध्ये ३२ जना र २१ महिला छन्। बिहीबार तुलसीपुरमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ।

फोकल पर्सन केसीका अनुसार बिहीबारको वडा नं. ६ मा मात्रै १६ जना संक्रमित थपिएका छन् । तुलसीपुरमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ। (सेतोपाटी डटकमबाट)

प्रतिक्रिया दिनुहोस्