पाँचथरमा भीडभाड हुने कार्यक्रम तथा २५ जनाभन्दा बढी भेला हुन रोक



पाँचथर, १० वैशाक । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को नियन्त्रणका लागि पाँचथरमा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ भने २५ जनाभन्दा बढी भेला हुन बन्देज लगाइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको भन्दै उक्त रोक लगाउनुका साथै सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

बैठकले सिनेमा हल, पार्टी प्यालेस, क्लब, जिमखाना, आमसभा, जुलुस, हाटबजार, दर्शक हुने कार्यक्रमहरु लगायत भीडभाड हुने कार्यक्रम वैशाक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै धार्मिक कार्यक्रमलाई सोही अवधिसम्मका लागि नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गराउने, ब्यवसायिक क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नदिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बैठकले मेला, महोत्सव, जात्रा, पर्व सहित विवाह, न्वारान, पास्नी ब्रतबन्ध लगायत धार्मिक अनुष्ठान र मलामी समेतमा २५ जनाभन्दा बढी भेला हुन नदिने तथा पार्टी प्यालेसको प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्णय गरेको छ ।

यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठि, सेमिनार, बैठक, तालिम, प्रशिक्षण आदि भर्चुअल माध्यमबाट गर्ने प्रयास गर्न र भौतिक उपस्थिति हुनुपर्ने भए २५ जनाभन्दा संख्या बढ्न नदिन साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

बैठकले सबै सवारीका साधन प्रयोग गर्नेलाई मास्कको अनिवार्य प्रयोग गराउने, यात्रुका लागि सवारी सञ्चालकले मास्क र सेनिटाइजरको प्रवन्ध गर्ने र सवारीलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने निर्णय समेत गरेको छ । मास्क प्रयोग नगर्नेलाई सवारीका साधन, ब्यवसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयमा प्रवेश गर्न नदिने बैठकले निर्णय गरेको छ ।

यस्तै लामो दूरीका सार्वजनिक सवारीका साधनले बीच बाटोमा यात्रु चढाउने तथा ओराल्ने काम गर्न नहुने, यात्रु विवरण डीसीसीएमसीलाई उपलब्ध गराउनु पर्ने, होटल रेस्टुरेन्टले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्रै सेवा दिनुपर्ने र अन्य समय होम डेलिभरीको सेवा दिनसक्ने, होटल रेस्टुरेन्टमा समेत मास्कको प्रयोग अनिवार्य गरी दैनिक निसङ्क्रमण गराउनु पर्ने बैठकले निर्णय गरेको छ ।

उक्त बैठकले स्थानीय तहहरुले १५ बेडसम्मका अस्पतालहरुसँग सङ्क्रमितको उपचारका लागि सम्झौता गर्ने, होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका ब्यक्तिहरुको नियमित स्वास्थ्य निगरानी गरी थप उपचार गर्नुपर्ने भएका सो को प्रवन्ध गर्ने निर्णय समेत गरेको छ ।

यस्तै स्थानीय तहले नै कोभिड–१९ को लक्षण देखिएका बिरामी भेटिए एन्टिजेन परीक्षण गर्ने र नतिजा पोजेटिभ आए पीसीआर परीक्षणको प्रवन्ध गर्नुपर्ने, पीसीआरको नतिजा पोजेटिभ आएका ब्यक्तिका सम्पर्कमा पुगेका ब्यक्तिहरुको एन्टिजेन परीक्षणको प्रवन्ध मिलाउनु पर्ने निर्णय गरेको छ ।

स्थानीय तहले आवश्यकताअनुसार स्वाब सङ्कलनको ब्यवस्था मिलाउनु पर्ने, आफ्नो स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा स्वयंसेवक स्वास्थ्यकर्मी समेत परिचालन गराउनु पर्ने, द्रूत प्रतिकार्य समूह गठन गरी तयार अवस्थामा राख्नुपर्ने, कोभिड–१९ का कारण मृत्यु भएका ब्यक्तिको शव आफन्तलाई मापदण्डको पालना गर्दै आ–आफ्नो धार्मिक परम्पराअनुसार ब्यवस्थापन वा अन्त्येष्टि गराउन दिने र सो कार्य सम्भव नभए नेपाली सेनाबाट गराउने निर्णय समेत बैठकले गरेको छ ।

यस्तै क्वारेन्टिन, आइसोलेसन, केस इन्भेष्टिगेसन, कन्ट्र्याक ट्रेसिङ, उपचार ब्यवस्थापन, परीक्षण लगायतमा आवश्यक सामग्री खरिद र जनशक्ति परिचालनको ब्यवस्था मिलाउने, यी कार्यमा सर्वसाधारणलाई संगठित रुपमा परिचालन गर्ने र अन्तर्राष्ट्रिय नाकाबाट आउनेलाई आइसोलेसन, क्वारेन्टिन वा गन्तब्यमा पुर्‍याउन सहयोग गर्ने जिम्मेवारी समेत स्थानीय तहलाई नै दिने बैठकले निर्णय गरेको छ ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ समेत सहभागी बैठक जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी)का प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालको अध्यक्षता तथा सुरक्षा निकाय र स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्