

पाँचथर, १० वैशाक ।
ग्रामीण वस्तीहरु पुग्ने सवारीमा बर्खा लाग्ने वित्तिकै यात्रुको भीड हुन थाल्छ । खाद्यान्न लगायतका सामग्री गाउँ पुर्याउन भ्याइनभ्याई हुन्छ । कतिपय गाउँका सर्वसाधारणले वैशाक, जेठमै हिउँदसम्म पुग्ने खाद्यान्न लगायत आवश्यकीय जोहो समेत गर्दछन् ।
किनकी बर्खा लागेपछि अधिकांश ग्रामीण सडकहरुमा सवारी चल्दैनन् । हिउँदभरी धुलाम्य हुने भित्री सडकहरु सामान्य वर्षा हुने वित्तिकै हिलोले भरिन्छन् । पानी नपर्दा धुलोले हिँडिनसक्नु हुने सडकहरु पानी पर्ने वित्तिकै हिलोले भरिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणले सास्ती ब्यहोर्दै आएका छन् ।
ग्रामीण वस्तीहरुमा पुग्ने अधिकांश सडकहरुको विशेषता नै हिउँदमा धुलो र बर्खामा हिलो भएको छ । स्थानीय तह निर्माणपछि वस्तीहरुसम्म पुग्ने सडक निर्माणमा स्थानीय सरकारहरुले यथेष्ट बजेट छुट्ट्याए । परिणामतः अहिले कुना कन्दराका वस्तीसम्म सडक पुगेको छ ।
तर ट्र्याक विस्तारमा धेरै बजेट खर्च हुँदा स्थानीय तह भित्रका मुख्य सडकहरुको स्तरोन्नति गर्ने बजेट अभाव हुने गरेको छ भने सिमित बजेटले सडकहरुको स्तरोन्नति सम्भव भएको छैन् । स्थानीय तहहरुले प्रयास थालेपनि ग्रामीण सडक समस्याग्रस्त छन् ।
जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कमल थापा ग्रामीण सडकहरु हिउँदमा धुलाम्य हुने र बर्खामा हिलोले हिडिनसक्ने अवस्था सबै क्षेत्रको समस्या भएको वताउनुहुन्छ । तुम्बेवा जस्ता विकट स्थानीय तहका जनताले विशेषत बर्खामा धेरै समस्या भोग्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
“चार वर्षअघि हामी निर्वाचित भएर आउँदा जता पनि बाटो खन्नुपर्छ भन्ने माग आए”, थापाले भन्नुभयो, “जनताको मागअनुसार सडकको ट्र्याक विस्तारमा लाग्दा स्तरोन्नतिमा प¥याप्त बजेट विनियोजन गर्ने अवस्था रहेन ।”
यद्यपि धेरै ट्र्याक खोलिसकिएकाले आगामी दिनमा सडकहरुको स्तरोन्नतिमा लाग्ने अवसर रहेको वडाध्यक्ष थापा वताउनुहुन्छ । “मुख्य सडकहरु सुधार हुँदै गएका छन् । तिनलाई कालोपत्रेको चरणमा अगाडि बढाएका छौँ”, थापाले भन्नुभयो, “अव प्राथमिकतामा आधारमा ग्रामीण सडकहरुको स्तरोन्नति गर्नुपर्छ ।”
हिलिहाङ गाउँपालिका–५ का वडा सदस्य राजकुमार पन्थाक अधिकांश कच्ची सडकहरुमा हिलो र धुलोको समस्या रहने गरेको वताउनुहुन्छ । सडकमा खाल्डाखुल्डी पर्ने, पानी जम्ने र हिलो हुने समस्या समाधान गर्न बर्खामा ट्र्याक्टर सञ्चालन रोक्ने नीति कार्यान्वयन गर्दा केही सहज भएको पन्थाकको धारणा छ ।
“यो समस्याको न्यूनिकरणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट कच्ची सडकहरुमा ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्ने लगायत काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले निर्माण भइरहेका सबै सडकहरुमा अनिवार्य नाली निर्माण गरेर सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रयास गरिरहेका छौँ ।”
गाउँसम्म पुग्ने अधिकांश सडकहरुमा धुलो र हिलोको समस्या हुने गरेको छ । हिलोका कारण सडक चिप्लो भई बेलाबखत सवारी दुर्घटना समेत हुने गरेको छ । यहाँ निर्माणाधीन मुख्य सडकहरु समेत कालोपत्रे भएका छैनन् । जसकारण मुख्य सडकहरुमै धुलो र हिलोको समस्या हुने गरेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको दारिम्बा–चिवाभञ्ज्याङ खण्ड विस्तारको क्रममा छ ।
५१ किलोमिटरको यो खण्ड कालोपत्रे नहुँदा सर्वसाधारणले धुलो र हिलोको समस्या ब्यहोर्नु परिरहेको याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाई छ । अन्य मुख्य ग्रामीण सडकहरुलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन ढुङ्गा सोलिङ गर्ने, नाली निर्माण गर्ने जस्ता कार्यहरु भइरहेको उपाध्यक्ष योङहाङले वताउनुभयो ।
सुदूर वस्तीहरुमा सडक पुगेकाले अव सडकहरुको गुणस्तर सुधारमा लाग्नु पर्ने सर्वसाधारणको जोड छ । जिल्लाको फालेलुङ गाउँपालिका–६ तालखर्कका हुमबहादुर गुरुङले भन्नुभयो, “हाम्रो विकट गाउँसम्म राम्रो बाटो आएको छ । तर अब बर्खामा पनि चल्नसक्ने बनाउन सरकारले सहयोग गर्नुपर्यो ।”
वडाले प्राथमिकतामा राखी दुई दर्जन घर भएको तालखर्कसम्म बाटो विस्तार गरेकामा गुरुङ खुशी हुनुहुन्छ । “यति त सरकारले गरेकै हो, अब हामी पनि धुलो र हिलोबाट मुक्त हुन चाहन्छौँ”, उहाँले भन्नुभयो ।
जिल्लाको कुम्मायक गाउँपालिकाले ग्रामीण सडक संरक्षणको जिम्मा स्थानीयवासीलाई दिने नीति लिएको थियो । उक्त नीतिपछि सडकको अवस्थामा सुधार आएपनि समस्याहरु पूर्णतः हल हुन भने सकेको छैन् ।
सदरमुकाम फिदिमबाट कुम्मायकको यासोक, तुम्बेवाको मौवा, हिलिहाङको सुभाङ–पञ्चमी, फाल्गुनन्दको घुर्विसेपञ्चमी तथा मिक्लाजुङको रबी जोड्ने मुख्य सडकहरु कालोपत्रेको चरणमा अगाडि बढिसके पनि अहिले धुलो र हिलोसँग जुध्नुपर्ने बिवशता कामयै छ । यी बाहेक शाखा सडकहरुको अवस्था उस्तै छ ।
राँके–रबी–भेडेटार सडक, तमोर कोरिडोर लगायत सडकको पनि ट्र्याक मात्रै विस्तार भएको छ । जसकारण सर्वसाधारण धुलो र हिलोको समस्या झेल्न बाध्य छन् ।
धुलो र हिलोले सर्वसाधारणले पाउने दुःखका कथा बेग्लै छन् । वस्तीहरुसम्म सामान र मानिस दुवै बोक्न मिल्ने पिकअपहरु चल्ने गर्दछन् । सवारी साधनको सिमितताले सर्वसाधारणसँग झुण्डिएर वा छतमा बसेर भएपनि यात्रा गरी गन्तब्य पुग्नुको विकल्प हुँदैन् ।
सामान राख्ने ठाउँमा बसेर यात्रा गर्न पाउनु कतिपयका लागि खुशीको विषय हुन्छ । जसकारण सदरमुकाम आइपुग्दा यात्रुहरु धुलो वा हिलोले पुरिएका भेटिन्छन् । प्राथमिकताका आधारमा ग्रामीण सडकहरुको स्तरोन्नति गर्नुपर्ने सर्वसाधारणको माग छ ।