मृत्यु भइसकेका ब्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ



झापा, ९ वैशाक ।

झापाको बिर्तामोडका स्व. टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनका नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी–३ का ३९ बर्षीय मंगलसिंह राजवंशी, भद्रपुर–७ का ५२ बर्षीय नवीन कोइराला, बाह्रदशी–५ का ५० बर्षीय लिलाधर राजवंशी, गौरीगञ्ज–१ का ३७ बर्षीय बलराम बिश्वकर्मा, शिबसताक्षी–८ का ४२ बर्षीय भुपदेव कटुवाल छन् ।

यस्तै उक्त गिरोहमा रहेका झापाकै अर्जुनधारा–५ का ५३ बर्षीय लेखनाथ खनाल, बिर्तामोड–४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड–१० का ७१ बर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड–४ की ३३ बर्षीया रञ्जु राई र मोरङको उर्लाबारी–४ का ४८ बर्षीय राजन विश्वकर्मा समेत पक्राउ परेका हुन् ।

यस गिरोहले बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय मिटर पश्चिममा पूर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गिरोह समूहले उक्त जग्गा ठगी गर्नका लागि पक्राउ परेका मध्ये देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत खडा गरी नक्कली नागरिकता बनाएको थियो । जग्गा ठगीका लागि गत असोज २८ गते काठमाण्डाँै जिल्ला अदालतबाट झापा बाह्रदशी–३ घर भई हाल बिर्तामोड–२ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा वारेशनामा बनाएको पाइएको प्रहरीको भनाई छ ।

उक्त वारेशनामामार्फत झापा बिर्तामोड–४ की रञ्जु राईको नाममा गत माघ २१ गते राजीनामा पास गरेको घटनाका बारेमा इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेको थियो ।

जाहेरी परेसँगै १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (आरआइटी), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरी सार्बजनिक गरेको हो ।

उक्त ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेको उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्