टी२० क्रिकेटमा मलेशियामाथि नेपालको प्रभावशाली जित



फिदिम । काठमाण्डूमा आयोजना भइरहेको त्रिदेशीय टी२० क्रिकेट प्रतियोगिताको अन्तिम लीग खेलमा नेपालले मलेशियालाई ६९ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ गर्दै नेपालले सात विकेट गुमाएर २१७ रन बनाएको थियो भने मलेशियाले १९.१ ओभरमा १४८ रन मात्रै बनायो। बिहीवारको खेल अगाडि नै नेपाल र नेदरल्यान्ड्सबीच शनिवारको फाइनल खेल पक्का भइसकेको थियो।

ब्याटिङमा चम्किएको नेपाल

यो प्रतियोगिताअघि ३४ टी२० खेलमा भुटानसँग एक पटक मात्रै २०० रनभन्दा बढी बनाएको नेपालले लगातार दोस्रो पटक त्यो कोशेढुङ्गा पार गरेको छ।

बिहीवार लगातार तीन खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमै आउट भए पनि आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र करण केसीको योगदानले नेपालले उच्च योगफल तयार पारेको हो।

शेखले ३२ बलमा ४२, मल्लले २५ बलमा ४१ र ऐरीले १७ बलमा ३३ रन बनाए। केसी एक समय ११ बलमा सात छक्का हानेर ४४ रनको स्थितिमा थिए र उनले अर्को बलमा छक्का प्रहार गरेको भए भारतका युवराज सिंहले सन् २००७ मा बनाएको तीव्र अर्धशतकको कीर्तिमान बराबरी गर्थे।

तर उनले अर्को बलमा एक रन लिए र त्यसपछिको बलमा आउट भए। उनी र कुशल मल्लको ब्याटिङले नेपालले सत्रौँदेखि उन्नाइसौँसम्म तीन ओभरमा ६३ रन जोडेको थियो। कुशल मल्लले १० बलमा १९ रनको योगदान दिए। नेपाली ब्याट्सम्यानहरूले कुल १९ छक्का र नौ चौका प्रहार गरेका थिए।

मलेशियाको प्रयास

प्रत्युत्तरमा मलेशियाले विजयको लागि तीव्र गतिमा रन बनाउनु पर्ने थियो। तर म्यान अफ द म्याच सोमपाल कामीले तीन ओभरभित्र दुई विकेट लिएपछि त्यो कार्य असहज बन्यो। अहमद फैजले ३१, अमिनुद्दिन रामलीले १८ बलमा ४१ रन बनाएर स्कोर अगाडि बढाउन खोजे पनि नियमित अन्तरालमा मलेशियाले विकेट गुमायो।

नेपालका लागि सन्दीप लामिछाने, कामी र कमल ऐरीले तीन–तीन विकेट लिए। यो प्रतियोगिताका चार खेलमा लामिछानेले एघार विकेट लिएका छन्।

अघिल्लो खेलमा उनी करण केसीलाई उछिन्दै नेपालको लागि सबैभन्दा बढी टी२० विकेट लिने बलर बनेका थिए। उनले हालसम्म २४ खेलमा ४५ विकेट लिएका छन्। केसीले ३२ खेलमा ४१ र कामीले ३२ खेलमा ३१ विकेट लिएका छन्।

मलेशियाको असफल यात्रा

मलेशियाको लागि यो प्रतियोगिता बिर्सन लायक रह्यो। प्रतियोगिताअघि नेपालसँगको पछिल्लो खेलमा विजयी बनेको मलेशियाले चारमध्ये तीन खेल हार्‍यो भने बुधवारको नेदरल्यान्ड्सको खेलमा बराबरी गर्‍यो।

पानी परेर अवरुद्ध बुधवारको खेलमा नेदरल्यान्ड्सले १३ ओभरमा चार विकेट गुमाएर १०७ रन बनाएको थियो। विजयका लागि पहिले १३ ओभरमा १२० र फेरि वर्षाले प्रभावित पारेपछि १० ओभरमा ९२ रनको लक्ष्य पाएको मलेशियाले चार विकेट गुमाएर ९१ रन मात्रै बनाउन सकेको थियो।

वर्षा र खेल समय सकिएका कारण सुपर ओभरमा नलगिएको उक्त खेलबाट दुवै टोलीले एक–एक अङ्क बाँडेका थिए।

शनिवार फाइनल

शनिवार कीर्तिपुरस्थित मैदानमा बिनादर्शक फाइनल खेल हुनेछ। लीगपछि छ अङ्क लिएर शीर्ष स्थानमा रहेको नेपाल र पाँच अङ्क पाएको नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हुन्। लीगमा भिड्दा दुवै टोलीले एक–एक खेल जितेका छन्।

हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच आठ टी२० खेल भएका छन् जसमध्ये नेपाल तीनमा विजयी र चारमा पराजित भएको छ भने एउटा खेल बराबरी भएको छ। (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्